धनगढी–दिपायल द्रुतमार्गमा पुल निर्माणको काममा ढिलासुस्ती
2024/05/03, 2:06
 
ss

धनगढी–दिपायल द्रुतमार्गमा पुल निर्माणको काममा ढिलासुस्ती भएको छ। निर्माण कम्पनीले तदारुकताका साथ काम नगर्दा थप गरिएको समयावधिमा पनि पुल बन्न नसक्ने अवस्था देखिएको छ।

पुल निर्माणका लागि थप गरिएको समयावधि सकिँदासम्म आठ वटा पुलको निर्माण प्रगति न्यून रहेको धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयले जनाएको छ। सो कार्यालयका अनुसार निर्माण कम्पनीहरूले पुल निर्माणमा ढिलासुस्ती गर्दा आठ वटा पुल निर्माणको कार्य प्रगति सन्तोषजनक देखिएको छैन । तोकिएको समयमा बन्न नसकेका पुल निर्माणका लागि समय थप गर्दा पनि काम पूरा हुन नसकेको हो।

२०८० साल वैशाख १५ गतेभित्र निर्माण कार्य पूरा गर्ने गरी तीन वटै पुलको ठेक्का सम्झौता भएको थियो । तोकिएको समयमा पुल निर्माणको कार्य पूरा नभएपछि २०८० कात्तिक १५ गतेसम्म म्याद थप गरिएको हो ।तीन वटै पुलको लागत सम्झौता क्रमशः दुई करोड २७ लाख, तीन करोड २६ लाख र चार करोड ७० लाख रुपियाँ रहेको छ । २०७८ साल माघ २२ गतेमित्र बिल्डर्ससँग पुल निर्माण ठेक्का सम्झौता भएको थियो।

यसै गरी चार करोड पाँच लाख रुपियाँ लागतमा बन्ने काला खोला लामगाडा पुलको काम १६ प्रतिशत मात्रै छ । सो पुल निर्माणका लागि टिडिआर कन्स्ट्रक्सनसँग २०७८ वैशाख १५ मा ठेक्का सम्झौता भएको थियो । त्यस्तै नकुराडी खोला पुलको निर्माण कार्य प्रगति पनि २० प्रतिशत मात्रै छ । तीन करोड ८२ लाख रुपियाँमा मालिका–शनिदेव जेभीसँग २०७८ माघ १६ मा यो पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । गल्वा–जगदम्बा–सुर्मा सरोवरले सल्कोट खोलामा निर्माण गरिरहेको पुलको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ । २०८० वैशाख १५ गतेभित्र निर्माण कार्य पूरा गर्ने गरेर २०७८ माघ १६ मा ठेक्का सम्झौता गरेको थियो।

सम्झौता थप गरिएको छ महिनामा पनि आधा काम पूरा गर्न सकेको छैन । सो पुलको लागत तीन करोड ९७ लाख रुपियाँ रहेको छ । हाट खोली र ग्वासी खोलामा बनिरहेको पुलको काम पनि करिब पाँच प्रतिशत मात्रै पूरा भएको छ । २०७८ जेठ २५ गते ठेक्का सम्झौता भएको दुवै पुलको समयावधि गत मङ्सिर २४ गतेसम्म रहेको थियो । निर्माण समयावधि सकिएपछि निर्माण कम्पनी गुल्लीभर–कुटुम्ब–भुवनेश्वरी जेभीले २०८२ वैशाखसम्मका लागि समय थप गर्न निवेदन दिएको जनाइएको छ । हाट खोली पुलको लागत पाँच करोड १९ लाख र ग्वासी खोलाको लागत साढे चार करोड रुपियाँ रहेको धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयले जानकारी दिएको छ।गोरखापत्र