सन्कट्टीमा पुल निर्माण थालियो
2024/05/11, 3:25
 
dd

बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा पक्की पुल निर्माणको काम अघि बढेको छ । पुल निर्माण गर्न सरकारले २०८९ पुसमा ठेक्का सम्झौता गरेको थियो । तर वातावरणीय प्रभाव मूल्याङ्कनको काम समयमा सम्पन्न नहुँदा काम अगाडि बढ्न सकेको थिएन । 

बजेट अभाव र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण निर्माण कम्पनीले पुल निर्माणको काम अगाडि बढाउन सकेको थिएन । “वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्ट समयमा आउन नसक्दा र काम गर्ने अनुमति नपाउँदा डेढ वर्ष ढिलोगरी पुलको काम सुरु भएको हो”, पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सनका इञ्चार्ज कृष्ण ढुङ्गेलले भन्नुभयो, “कुनै अवरोध नआए काम निरन्तर हुन्छ ।”

बजेटको सुनिश्चितता हुन नसक्दा समस्या आउनसक्ने देखिन्छ । चालू आर्थिक वर्ष २०८०/८१ मा पुलका लागि अर्थ मन्त्रालयले रु एक करोड ६८ लाख विनियोजन गरेको थियो । पुलको निर्माण सम्झौता रु एक अर्ब चार करोडमा भएको थियो । “अहिले पनि ऋण लिएर काम गरिरहेका छौँ । विभागबाट पैसाका कारण काम नरोक्ने भनेपछि त्यसो गरेका हौँ”, इञ्चार्ज ढुङ्गेल भन्नुहुन्छ, “सबै कुराले साथ दिए २०८३ भित्र पुल निर्माण सम्पन्न हुन्छ ।” सम्झौताअनुसार पुलको काम २०८२ कात्तिकभित्र सम्पन्न गरिसक्नुपर्ने हो । 

सनकट्टीमा पुल निर्माण गर्न निकै प्रयास गर्नुपरेको सुदूरपश्चिम प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री डा।रणबहादुर रावलले पुल निर्माण भएपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको दूरी नजिक हुने विश्वास व्यक्त गर्नुभयो । “सनकट्टी पुल, चिसापानी कर्णाली पुल र हुलाकी राजमार्गको सत्ती कर्णाली पुलको विकल्प हो । पूर्वपश्चिम जोड्ने अर्को वैकल्पिक मार्ग सनकट्टी पुल बन्नेछ”, उहाँ भन्नुहुन्छ, “यसलाई विलम्ब नगरी सरकारले प्रमुख प्राथमिकताका साथ समयमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ, निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई समयमै पूरा गर्नुुपर्छ ।”

पुल निर्माणपछि टीकापुरको व्यावसायीक गतिविधि बढ्ने टीकापुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले बताउनुभयो । वर्षौदेखि सङ्घले पुल निर्माणका लागि पहल गरेको उहाँको भनाइ छ । “कैलालीको टीकापुरलाई व्यापारिकरुपमा स्थापित गर्न बर्दियाको गेरुवा गाउँपालिकासँग जोड्ने यो पुल महत्वपूर्ण छ । यसले व्यापारिकरुपमा पनि टीकापुर र बर्दियाको सम्बन्धलाई मजबुत बनाउनेछ”, उहाँ भन्नुहुन्छ, “सनकट्टी जस्तै दौलतपुरमा पनि पुल निर्माण आवश्यक छ । त्यसका लागि सङ्घले आवाज उठाइरहेको छ ।”

पुलको लम्बाइ सात सय ५० मिटर रहनेछ । टीकापुर(२ का वडाध्यक्ष दिपक चौधरीले पुल निर्माणको कामलाई सञ्चालन गर्न समय लागे पनि पुल निर्माण हुने सुनिश्चित भएको बताउनुभयो । उहाँले केही प्राविधिक कुराले ठेक्का सम्झौता भइसकेको काम सुरु हुन समय लागेको बताउनुभयो । सम्झौता भएको एक वर्षभन्दा बढी समय हुँदा पनि काम अगाडि बढ्न नसकेको अवस्थामा पुल निर्माणको काम सञ्चालन हुँदा पुलबाट सुरक्षितरुपमा यात्रा गर्ने नागरिकको इच्छा पूरा भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । “अबको दुई वर्षपछि जोखिमपूर्ण यात्रा गरेर कर्णाली वारपार गर्नुपर्ने छैन । बर्दिया र टीकापुरको दूरी नजिक हुनेछ”, उहाँले भन्नुभयो । रासस