कैलालीमा प्रहरीमाथि नै जासुसी, २ जना पक्राउ
2024/05/12, 3:23
 
ss

कैलालीमा प्रहरीमाथि नै जासुसी गर्ने २ जना पक्राउ परेका छन्। तस्कर समूहहरुको तर्फबाट प्रहरीमाथि नै निगरानी गरेको आरोपमा धनगढी ७ मनेहराका बुद्दीराम चौधरी र धनगढी ९ तारातालका पदम पार्की पक्राउ परेका हुन्। शनिबार चौधरी पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ।

चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै आइतबार बिहान पार्कीलाई पनि पक्राउ गरिएको हो । प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा निगरानी राख्ने र तस्करहरूलाई यस बारेमा जानकारी दिने गरेको खुलेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले जारी गरेको सूचनामा उल्लेख छ। 

उनीहरुले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना दिने गरेको खुलेको हो।

पार्की र चौधरीले तस्कर समूहबाट प्रति सूचनाको ५ सय रुपैँया लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरु दुबै जनालाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।