![tramp](/sites/default/files/styles/flexslider_full/public/2020-05/Trump-1.jpg?itok=vLHg8eja)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ । डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहो¥याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।
चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’ अमेरिकाले डब्ल्यूएचओमा केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्ल्यूएचओले नमानेको आरोप ट्रम्पले लगाए । चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ । २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै आएको छ । कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)