
आज एकै दिन सुदुरपश्चिममा ५ जना नयाँ कोरोनाका संक्रमित भेटिएका छन् । उनीहरु कहाँबाट आएका थिए उनीहरुको ट्राभल हिष्ट्रीको खोजी भईरहेको छ । डडेल्धुरामा फेला परेका संक्रमितको भने कुनै ट्राभल हिष्ट्री नरहेको पाईएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तका अनुसार उनी जिल्लामै कार्यरत सरकारी कर्मचारी हुन भने कहि कतैबाट नगएको नआएको तथा भिडभाडमा समेत नभएको पाईएको छ । उनलाई यसअघि स्क्रब टाईफस देखिएकोले औषधी दिएर चिकित्सकले घर पठाएको पाईएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । उनलाई डडेल्धुरामै आईसोलेसनमा राखिएको छ ।
यता कैलालीका तीन जना संक्रमितमध्ये दुई जनालाई भने प्रहरीले जर्वजस्ती ल्याएर क्वारेन्टाईनमा राखेको खुलेको छ । उनीहरुलाई जानकी गाउँपालिकाले गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो । जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरु ईटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको पाईएको छ ।

वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै भारतको महाराष्ट्रबाट फर्किएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिईन् । वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना ईटहरी र एक जना बाँकेबाट फर्किएको थाहा भएको उपाध्यक्ष महतोले बताईन् । ईटहरीबाट आएका युवक वैशाख ३० गते त्यहाँ पुगेका थिए । अर्का सक्रमित युवक जेठ ३ गते बाँकेबाट त्यहाँ पुगेका थिए ।
उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो ।