स्वास्थ्यकर्मीसहित सङ्क्रमितको घरदैलोमा पुग्दै कञ्चनपुरको शुक्लाफाँटाका नगरप्रमुख
2021/06/12, 5:35
 
da

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐर कोरोना सङ्क्रमितको घरदैलोमा पुग्दै आएका छन्। यस कार्यलाई उनले एक हप्तादेखि निरन्तरता दिँदै आएका छन्। सङ्क्रमितका घरमा पुगेर परिवारका सदस्यलाई अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिन्छन्। त्यसपछि आवश्यकताका आधारमा सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सामग्रीसँगै पोषिला खानेकुरा खुवाउनका लागि सल्लाह र सुझाव दिन्छन्।

उनले आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितलाई सँगै बोकेको कालो झोलाबाट महिना दिन पुग्ने गरी मास्क, स्यानिटाइजर उपलब्ध गराउँछन्। स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्था नगरप्रमुखले व्यक्तिगत खर्चमा धान्दै आएका छन्। सडकमा हिँड्ने व्यक्तिले स्वास्थ्यका मापदण्ड पालना नगरेको पाए उनी सेचत पार्नका लागि आफैँ अगाडि सर्छन्। उनी मास्क नलगाई हिँड्नेलाई मास्कको महत्व दर्शाउँदै मास्कसमेत निःशुल्करूपमा बाँड्ने गर्छन्।

कोरोना सङ्क्रमितको मनोबल उच्च राख्नका लागि घरदैलोमा पुग्दै आएको नगरप्रमुख ऐर बताउँछन्। “कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि अभियान सञ्चालन गरेको छु”, उनले भने, “परिवार र समाजबाटै सङ्क्रमितलाई अर्कै तरिकाले हेरिन्छ, जसबाट सङ्क्रमितको मनोबल खस्किन्छ, सङ्क्रमितको मनोबल उच्च राख्नका लागि परिवारका सदस्यलाई समेत सम्झाउने र सावधानी अपनाउनेबारे जानकारी दिँदै आएको छुँ।”

हालसम्म नगरप्रमुख ऐर दुई दर्जन बढी सङ्क्रमितका घरमा पुगेका छन्। उनी कोभिड अस्पतालमा रहेका बिरामीलाई भेट्न साँझ–बिहान एकपटक पुग्ने गर्दै आएका छन्। कोरोनाका शङ्कास्पद बिरामी भएको जानकारी पाएमा बस्तीमै स्वास्थ्यकर्मी र चिकित्सकको टोलीसहित नगरप्रमुख ऐर आफैँ पुग्दै आएका छन्। उनी बस्तीका व्यक्तिको स्वास्थ्य जाँचसँगै कोरोनाका लक्षण देखिए कोभिड अस्पतालमा उपचारका लागि पुग्न आग्रह गर्छन्।

“नगर अभिभावकको भूमिका निभाउनका लागि जनताले निर्वाचित गरेका हुन्, सुखदुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य हो”, उनले भने, “जनता दुःखमा परेका बेला साथ दिनुपर्छ, यसै मर्मलाई आत्मसात गर्दै आएको छु, जनताको सेवक भएको कुरा बिर्सेको छैन।”

उनी तत्कालै उपचार र औषधिको आवश्यकता भएका कोरोनाका बिरामीलाई कोभिड अस्पतालमा ल्याउनका लागि एम्बुलेन्सको व्यवस्थासमेत मिलाउँदै आएका छन्। नगरपालिकाले कोभिडका बिरामी बोक्नका लागि निःशुल्करूपमा एम्बुलेन्सको व्यवस्था गरेको छ। दुई दिनअघि निकुञ्जबाट विस्थापितको तारापुर शिविरमा चिकित्सकसहित पुगेका नगरप्रमुखले स्थानीय बासिन्दालाई स्वास्थ्य सामग्री बाँडेका थिए।

ज्वरो आएका दुई दर्जन बढी व्यक्तिलाई चिकित्सकको सिफारिशमा औषधि वितरण कार्यसँगै उनले शङ्कास्पद बिरामीलाई कोभिड अस्पतालमा उपचारका लागि ल्याउन परिवारका सदस्यलाई सुझावसमेत दिएका छन्। “अधिकांश परिवारका सदस्यमा ज्वरो आउने, रुघाखोकी लाग्नेलगायत समस्या देखिएको थियो”, शिविरका बासिन्दा नरिभान ढुङगालले भने, “नगरप्रमुखलाई यसबारे जानकारी दियौँ, नगरप्रमुखकै उपस्थितिमा चिकित्सको टोलीले जाँच गरेको छ, शङ्कास्पद बिरामीलाई कोभिड अस्पताल ल्याउनका लागि भनेका छन्।

वनहरा नदी छेउमा वर्षौँदेखि झोपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई भेटेर नगरप्रमुख ऐरले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदै छिट्टै राहत सामग्रीका लागि पहल गर्ने अश्वासनसमेत दिएका छन्। “भूमिहीन परिवारको पीडा बुझेको छु, केही दिनभित्रै राहत सामग्रीका लागि पहल गर्छु, भोकै बस्नुपर्ने अवस्था आउँदैन”, नगरप्रमुख ऐरले भने। नगरपालिकामा दुई चिकित्सकसहित १५ शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा छ। कोभिडका बिरामी बोक्नका लागि निःशुल्क एम्बुलेन्स र शव व्यवस्थापनका लागि कर्मचारीसहित निःशुल्क बाहनको व्यवस्था गरिएको छ।

नगरपालिकामा कोरोनाका बिरामीको सङ्ख्या बढ्दोरूपमा छ। हाल कोरोनाका होमआइसोलेशनमा ३५ र कोभिड अस्पतालमा नौ बिरामी छन्। नगरपालिकामा हालसम्म दुई हजार ३७२ जनाको पिसिआर परीक्षण गरिएकामा ४२९ को नतिजा पोजेटिभ आएको छ। एन्टिजेनबाट परीक्षण गरिएका ४७२ मध्ये ८१ जनाको नतिजा पोजेटिभ आएको छ। कोरोनाको सङ्क्रमण भएकामध्ये ४८१ निको भई घर फर्किसकेका छन्। कोरोनाबाट नगरपालिकाका १० जना बढीले ज्यान गुमाइसकेका छन्। रासस