सुदूरपश्चिमका सांसद मल्लले भनिन्, गाँजा खेतीलाई वैधानिकता दिनपर्छ 
2021/06/12, 5:48
 
tt

धनगढी — सुदूरपश्चिम प्रदेशसभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेश सभा बैठकमा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद देबकी मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने माग गरेकी हुन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ ।’ उनले भनिन्, ‘सुदूरपश्चिम र बझाङका लागि असाध्यै महत्वपूर्ण रहेको गाँजा खेतीलाई कसरी वैधानिक बनाउन सकिन्छ, प्रदेश सरकारले धारणा बनाएर आवश्यक परे केन्द्र सरकारसँग पनि पहल गरोस् ।’

सुदूरपश्चिममा सबै ठाउँमा फाट्टफुट्ट गाँजा खेती चलन छ । खासगरी बझाङ र बाजुराका केही ठाउँमा परम्परादेखि निकै ठूलो मात्रामा गाँजा खेती हुने गर्छ । उनी बझाङबाट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेपालले सन् १९७६ मा लागूऔषध नियन्त्रण सम्बन्धी कानुन बनाएपछि गाँजा खेती प्रतिबन्धित छ । गाँजाको खेती, भण्डारण, सेवन र बिक्रि वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको उक्त ऐन अनुसार २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार जरिवाना हुनसक्ने नियम छ । तर कतिपय ग्रामीण क्षेत्रमा भने गाँजा खेती गर्ने गरिएको छ ।