सुदूरपश्चिममा कोरोना परिक्षणले गति लिन सकेन्, डिप फ्रिजमा थन्किए थ्रोट स्वाबका नमुना
2020/06/08, 10:56
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणको कामले गति लिन सकेको छैन । प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण हुन नसकेको हो । प्रदेशका विभिन्न संकलित एक हजार ६४२ वटा नमुना परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार संकलित नमुना अहिले धनगढी प्रयोगशालामा परीक्षणको पर्खाइमा डिप फ्रिजमा थन्किएका छन । निर्देशनालयले य सअघि संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगित गरेको थियो ।

धनगढी प्रयोगशालाबाट दैनिक बढीमा दुई सय ५० नमुना परीक्षण सम्भव भएकाले संकलित नमुना डिप फ्रिजमा थन्क्याउनुपर्ने बाध्यता आइपरेको हो । थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टाभित्र परीक्षण गर्न सकेमा मात्र प्रयोगशालाले विश्वसनीय रिर्पोट दिने चिकित्सकहरू बताउँछन ।

प्रदेश सरकारको मन्त्रि परिषद् बैठकले १५ चैतमा धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसका लागि उपकरण खरिद प्रक्रिया नै शुरु भएको छैन । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा अहिले सञ्चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघीय सरकारले उपलब्ध गराएको हो ।