सुदूरपश्चिम प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
2020/11/23, 9:28
 
corona

सुदूरपश्चिम प्रदेशका २ वटा प्रयोगशालामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५६ जनाको परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४/४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १/१ जनामा संक्रमण देखिएको छ । यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ । 

कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २/२ जना र बर्दगोरिया गाउँपालिकाका १ जनामा समेत कोराना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिकाका र डडेल्धुराको परशुराम नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।  

उता डडेल्धुरा अस्पताल डडेल्धुरामा भने ९७ नमूना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९२ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ४७ जनाले कोरोना जितेका छन् भने ५३ जनाको मृत्यु भएको छ ।