सुदूरपश्चिममा तीन दिनमा तीन जना कोरोना संक्रमितको मृत्यु
प्रदेशमा कोरोनाबाट ५६ जनाको ज्यान गयो
2020/11/30, 2:59
 
corona

सुदूरपश्चिममा तीन दिनमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली कञ्चनपुर र डडेल्धुरामा गरी तीन दिनमा तीन जनाको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको सोमबार मृत्यु भएको  छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको बताए । मंसीर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ ।

डडेल्धुराको अमरगढीमा नगरपालिकामा आईतबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालको आईसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ७२ वर्षीया कमलादेवी नगरकोटीको आईतबार बिहान मृत्यु भएको हो ।  निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी उनीमा केही दिन अघि कोरोना संक्रमण भेटिएको थियो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  उनको शव रण बम गण दह ब्यारेकले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।  यस्तै शनिबार कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  

गोदावरी नगरपालिका–१ का ५९ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन । उनको स्वास्थ्यमा समस्यमा आएपछि अस्पताल भर्ना गरिएकोमा सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पतालमा शनिबार कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटिभ आएको थियो  ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।