बैतडीबाट भागेर महेन्द्रनगरको होटलमा बसेका देवर–भाउजूको मृत्यु
2021/01/24, 1:21
 
aa

घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । २ दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिवार बिहान महेन्द्रनगर आइपुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्रनगर बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । ‘भाउजू र देवरको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’

देवर–भाउजू कहाँ जान महेन्द्रनगर आइपुगेको भन्नेबारे समेत खुल्न सकेको छैन । ‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन्, खाँदा बिरामी परें भन्थे,’ थापाले भने, ‘उनीहरू होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’

प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ । रासस