कञ्चनपुरको पुरैनी तालमा थपिए १० प्रजातिका चरा
2021/02/12, 10:24
 
chara

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर रहेको पुरैनी तालमा १० प्रजातिका चरा थपिएका छन् ।  

हिउँदमा जलपक्षी गणना गर्दा सो तालमा थप १० प्रजातिका चरा भेटिएका हुन । योसंगै परैनी तालमा पाइने चरा प्रजाति संख्या ४१ पुगेको छ । गतवर्ष यहि बेला चरा गणना गर्दा ३१ प्रजातिका चरा फेला परेका थिए । 

ध्वाँसे सिमकुखुरा, लोभीपापी गरुड, सेतो हुटिट्याँउ, पानी चाहा, चञ्चले सुडसुडिया, रुख सुडसुडिया, कालो गरुड लगायत प्रजाति थपिएका चरा गणना कार्यमा संलग्न चराविद हिरुलाल डङ्गौराले जानकारी दिए । पुरैनी ताल बेलौरी नगरपालिका–५ भुराकोटमा पर्दछ । 

भारतको महत्वपूर्ण संरक्षित क्षेत्र दुधुवा नेशनल पार्क नजिक पर्ने सो तालमा सारस, कैलेटाउको हाँस, भुँडीफोर गरुड जस्ता दुर्लभ पक्षी पाइने गरेका छन् । 

यसैबीच, तालमा पुरैनी तालमा यो वर्ष प्रजाति थपिए पनि चराको सङ्ख्या घटेको छ । गतवर्ष यो तालमा एक हजार ७४१ वटा चरा गणना गरिएको थियो । यो वर्ष एक हजार १७ वटा चरा अभिलेख भएका छन् ।  

गतवर्षको तुलनामा यो वर्ष ७२४ वटा चरा कम फेला परेको पक्षीविद डङ्गौराले  बताए । तालमा जलकुम्भी धेरै भएकाले जलपक्षी कम देखा परेको उनले जनाए । पक्षी संरक्षण संघ (बीसीएन) नेपालको अगुवाइमा चरा गणना गरिएको थियो ।