सुदूरपश्‍चिममा चार दिनमा ४४ जना कोरोना संक्रमितको मृत्यु
2021/05/05, 2:01
 
Death

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार दिनमा ४४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्याङकअनुसार पछिल्लो चार दिनमा ४४ संक्रमितको मृत्यु भएको हो । 

१८ गते १० जना, १९ गते १२, २० गते १४ र २१ गते ८ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसंगै प्रदेशमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको निर्देशनालयले जनाएको छ । होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा जोडिएको छैन् । सबैभन्दा बढी कैलाली जिल्लामा ५१ जना संक्रमितको मृत्यु भएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या दुई हजार ६ सय नाघेको छ । कैलालीमा एक हजार तीन सय ८३, कञ्चनपुरमा चार सय ९४, बैतडीमा दुई सय ४६, डोटीमा दुई सय पाँच र डडेल्धुरामा एक सय ८१ जना संक्रिय संक्रमित रहेका छन् । अछाममा ६७, बझाङमा ६१, दार्चुलामा पाँच र बाजुरामा दुई जना संक्रिय संक्रमित रहेका छन् ।