शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा सबैभन्दा बढी चर्चाको नाम थियो, तारा लामा तामाङको । शुक्रबार नै उनलाई प्रमुख सचेतकबाट हटाइएको पनि थियो । अधिकाशंले मन्त्री हुने पक्का भएपछि प्रमुख सचेतकबाट हटाइएको अनुमान पनि लगाए । तर थपिएका मन्त्रीको सूचीमा उनको नाम थिएन् ।
प्रमुख सचेतकबाट पनि हटाइएका तामाङ मन्त्री नभएपछि उनले खेमा फेरेको चर्चा सुदूरपश्चिममा छ । नेपाल पक्षका तामाङले उनकै जिल्ला कञ्चनपुरबाट निर्वाचित कुलबीर चौधरीलाई पनि मन्त्री नहुन आग्रह गर्दै ओली समूहलाई साथ दिन थालेको चर्चा हुन थालेको हो । तर तामाङले भने आफू गुट उपगुटमाथि विश्वास नगर्ने बताए । तामाङले भने, ‘मलाई पार्टीले रोजेरै मन्त्री हुन आग्रह गरेको हो । तर मेरो अहिले मन्त्री हुने इच्छा थिएन । त्यसैले भएन् ।’ स्थायी समिति र प्रदेश समितिको निर्णयविरुद्ध जान मन नलागेको हो रु भन्ने प्रश्नमा तामाङले भने, ‘त्यस्तो अहिले म केही भन्दिन । मलाई मन्त्री बन्ने इच्छा नै नभएर हो ।’
शुक्रबारसम्म राज्यमन्त्री हुने चर्चामा रहेका कुलबीर चौधरीले तामाङलाई जानकारी नै नदिएर प्रमुख सचेतकबाट हटाइएकाले आफूले पनि मन्त्री हुन अस्विकार गरेको बताए । ‘संसदीय दल पनि दुई समूहमा विभाजित छ । म त नेकपा एमाले एकजुट भएको हेर्न चाहन्छु,’ उनले भने । अहिलेसम्म २५ जना प्रदेशसभा सदस्य रहेको एमालेमा पूर्वमन्त्री पठानसिंह बोहरा, प्रदेशसभा सदस्यहरू लिलाधर भट्ट, गेल्बुसिंह बोहरा, रतन थापा, माया तामाङ बोहरा र नेपालु चौधरी गरी ६ जना मात्रै ओली समूहमा खुलेका छन् । तर एमाले प्रदेश समितिले माधव समूहका प्रदेशसभा सदस्यलाई कारबाही गर्न थालेपछि खेमा परिवर्तन गर्न थालेको चर्चा छ ।