धनगढी बहु प्राविधिक शिक्षालयमा किन हुन्छ पटक पटक तालाबन्दी ?
2022/12/06, 3:14
 
dd

धनगढी उप–महानगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सँगको साझेदारीमा सञ्चालन गरेको धनगढी बहु प्राविधिक शिक्षालय ९धनगढी पोलिटेक्निक इन्ष्टिच्यूट० मा मंगलबार फेरी तालाबन्दी गरिएको छ ।

उपमहानगरपालिकाले पटक पटक  अनुरोध गर्दा पनि आफ्ना मागहरू पुरा नगरेको भन्दै विद्यार्थीहरूले पाँच महिनाको अन्तरालमा पुनः तालाबन्दी गरेका हुन । विद्यार्थीहरूले २०७९ साउन २४ गते पनि विभिन्न प्रयोगशाला निर्माण गरिनुपर्ने, विषयगत शिक्षकहरूबाट पठनपाठन गराइनुपर्ने लगायतका माग राख्दै शिक्षालयमा तालाबन्दी गरेका थिए ।

कलेज उप–महानगरपालिको वडा नं ६ जालीमा रहेको छ । यहाँ महानगरपालिकाले सामान्य प्रयोगशाला समेत निर्माण नगरिदिँदा विद्यार्थी प्रयोगात्मक अभ्यास गर्नबाट वञ्चित छन् । सामान्य प्रयोगात्मक अभ्यासका लागि समेत बजार र अरू विद्यालयका प्रयोगशाला धाउनुपर्ने अवस्था छ । विद्यार्थी यूनियनले यस विषयमा पटक पटक इन्ष्टिच्यूट प्रशासनको ध्यान आकर्षण गराएको बताएका छन् । इन्ष्टिच्यूटमा अटोमोवाईल इन्जिनियरिङ्ग चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी मृगेन्द्र सिंहले ईन्ष्टिच्यूटका निर्देशक सूर्यबहादुर कार्कीलाई पटक पटक माग पत्र बुझाएको बताए । अहिले सम्म आधारभूत प्रयोगशाला, विषयगत प्रशिक्षक,खानेपानी, शौचालय, क्यान्टीन समेत नभएको गुनासो विद्यार्थीहरूको छ । 

साउन २४ गतेको शिक्षालयमा गरिएको तालाबन्दी नगरप्रमुख तथा शिक्षालयका अध्यक्ष गोपाल हमालले विद्यार्थीमा माग पुरा गर्ने भनेपछि खोलिएको विद्यार्थीहरू बताउँछन् । तर नगरप्रमुख हमाल अध्यक्षको पदभार ग्रहण गरेको दिन बाहेक कुनै पनि दिन शिक्षालयमा पुगेका छैनन् । उप–महानगरपालिकाले सस्तोमा प्राविधिक शिक्षा पठाउने भनेपछि आफूहरू शिक्षालयमा भर्ना भएको विद्यार्थीहरू बताउँछन् । आफूहरूले विद्यार्थीका समस्याका विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीलाई समेत जानकारी गराई सकेको विद्यार्थी कृष्ण ताडीले बताए । 

हामीले क्याम्पसका रहरले ताला लगाएका होइनौ ताडीले भने, स्थानीय सरकारले नै विद्यार्थीको भविष्य माथि खेलबाड गर्न थालेपछि आन्दोलित भएका हौँ ।यस विषयमा कुरा गर्न खोज्दा शिक्षालयका निर्देशक सूर्य कार्कीले फोन उठाएनन् । धनगढी बहु प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक रामबहादुर विकले विद्यार्थीहरूले आफूहरूले पटक पटक राखेका माग पुरा नगरेको भन्दै शिक्षालयमा तालाबन्दी गरेको बताए । उनले भने, यस विषयमा छलफल गरेर समस्या समाधान तिर लाग्छौँ । यस शिक्षालयमा होटेल अटोमोवाईल इन्जिनियरिङ्ग र होटेल म्यानेजमेन्ट डिप्लोमा र प्री डिप्लोमाका गरि २ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यविधि अनुसार इन्ष्टिच्यूट सञ्चालक समितिका अध्यक्ष नगरप्रमुख हुने व्यवस्था छ ।सञ्चालक समितिमा नगर प्रमुख नै अध्यक्ष रहने, सदस्यहरूमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा महाशाखा प्रमुख लगायत ११ जनाको समिति रहेको कार्यविधिमा उल्लेख छ ।

इन्ष्टिच्यूटको पठनपाठन वासुदेवी माध्यमिक विद्यालयको एउटा भवनमा भइरहेको छ । आफ्नो पठनपाठन गराउने भवन छैन । उपलब्ध भवनमा पनि आवश्यकता अनुसार बत्ती र पङ्खा छैनन् । विद्यार्थीहरूले माग पत्रमा उल्लेख गरे अनुसार खानेपानी, आवश्यक पर्ने प्रयोगशाला, क्यान्टीन, शौचालय, निर्देशिका अनुसार पूर्ण कालिन र विषयगत प्रशिक्षक छैनन् । अटोमोवाईल र होटेल म्यानेजमेन्ट तर्फ गरि १० वटा ल्याब आवश्यक पर्ने प्रशिक्षकहरू बताउँछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दिएको अनुदान रकम बाट होटेल र अटो मोबाइल तर्फको केही ल्याब सामाग्री खरिद गरेको भए पनि चाहिने थप उपकरण नहुँदा त्यसलाई प्रयोग गर्ने अवस्था नरहेको प्रशिक्षकहरू बताउँछन् ।

इन्ष्टिच्यूटमा खानेपानी नहुँदा जर्किनमा बोकेर विद्यार्थीहरूलाई खुवाउनु परेको गुनासो कार्यालय सहयोगी गणेश चौधरीको छ । विद्यार्थीहरू खाजा खान र शौच गर्न घर जानुपर्ने अवस्था रहेको बताउँछन् । शिक्षालयका पूर्व अध्यक्ष नृपबहादुर वड र पूर्व निर्देशक टेकेन्द्र देउवाको कार्यकालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुदान सहयोगबाट सामान्य ३ वटा ल्याब र एउटा शिक्षालयको भवन तयार गरिनुको साथै थप १२ कोठे विद्यालय भवन निर्माणका लागि रकम विनियोजन गराउने काम भएको विद्यार्थीहरू बताउँछन् ।

तर अहिलेको समिति र निर्देशकबाट शिक्षालयमा थप सुधार होला ठानेको तर लथालिङ्ग भयो । नगरप्रमुख हमालले आफू हुँदा एक दिन आफ्नो सल्लाहकार उपाध्यायलाई इन्ष्टिच्यूट घाटामा छ बुझेर आऊ भनेर पठाएको पूर्व निर्देशक टेकेन्द्र देउवाले बताए । ‘ उनले भने उपाध्यायले सबैभन्दा पहिले कार्यविधि संशोधनको कुरा उठाए । कार्यविधिमा संस्थापक अध्यक्ष पदेन सदस्य हुने कुराले नगर प्रमुख हमाल इरिटेड भएका हुन सक्छन् जस अनुसार निवर्तमान मेयर नृपबहादुर वड सञ्चालक समिति सदस्य हुन्छन् । इन्ष्टिच्यूटलाई राम्रो बनाउनुभन्दा पनि उप–महानगरपालिका प्रशासन कार्यविधि विपरीत गएर काम गरिरहेको आरोप देउवाको छ ।

सञ्चालक समितिको बैठक सम्म नराखेर कार्यविधि लत्त्याउँदै उप(महानगरपालिकाको प्रशासनले काम गर्दा इन्ष्टिच्यूट लथालिङ्ग भएको हो । प्रयोगशाला नभए पनि वासुदेवी मावि सँग सम्झौता गरेर कम्यूटर र विज्ञान प्रयोगशाला प्रयोग गर्ने व्यवस्था गरेको, अटो र होटेल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यासका लागि अटोमोवाईल डिलर्स एसोसिएसन सुदूरपश्चिम समिति र होटेल व्यवसायी सङ्घ कैलाली सँग सम्झौता गरेर प्रयोगात्मक अभ्यास गर्ने गरेको देउवाले बताए । उनले भने,‘ सिटिईभिटीबाट प्रस्ताव पेश गरेर प्राप्त गरेको अनुदान रकमबाट केही भए पनि ल्याब सामाग्री र उपकरण खरिद मेरो कार्यकालमा गरिएको छ ।”

यसअघि जेनतेन प्रयोगात्मक अभ्यासको व्यवस्था गरेको भए पनि माथिल्लो सेमेस्टरमा जाँदै गर्दा थप ल्याब पनि आवश्यक पर्ने देउवाले बताए । शिक्षालय श्रोतका अनुसार अहिले सम्म उप–महानगरपालिकाबाट दुई पटक गरि ३० लाख मात्रै अनुदान रकम उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा वासुदेवी मावि सँग सम्झौता गरेको जग्गामा ४ कोठाको भवन निर्माण भएको छ । सोही ठाउँमा एक वटा थप भवनका लागि गत आर्थिक वर्षकै निर्णय अनुसार बजेट परेको छ । विद्यार्थीहरूले प्रयोगशालाको माग गरिरहँदा चालु आर्थिक वर्षमा इन्टिच्यूट सञ्चालन व्यवस्थापनका लागि बजेट छुट्टाइएको छैन ।

उता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले पाठ्यक्रम अनुसार पूर्ण कालिक प्रशिक्षक नियुक्त गर्न र न्यूनतम प्रयोगात्मक सामाग्रीको व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ । सिकाइको न्यूनतम पूर्वाधार व्यवस्थापन नभएमा सञ्चालन स्वीकृति समेत रद्ध गर्ने जानकारी पत्रमा गरिएको छ ।