गर्मी याममा हुने फुड पोइजनबाट बच्न खाद्य प्रविधि धनगढीको अपिल
2023/04/23, 2:13
 
ss

गर्मी याममा हुनसक्ने फूड पोइजनबाट बच्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आम उपभोक्ता तथा उत्पादकहरूमा अनुरोध गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उपभोक्ता तथा उत्पादकहरूमा सचेतना सन्देश जारी गर्दै केही दिन यता बढ्दै गइरहेको गर्मीमा फूड पोइजनबाट बच्नका लागी अनुरोध गरेको हो।

‘यस वर्षको गर्मी बढ्दै गएको छ । विशेष खानपानमा ध्यान दिन अनुरोध गर्दछु, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले भने,‘जति जति गर्मी बढ्दै जान्छ त्यति त्यति खाद्य तथा पेय पदार्थहरू बिग्रन जाने, उपभोग्य आयु घट्न जाने र संवेदनशील खाद्य तथा पेय पदार्थहरू जस्तै आइसक्रिम, पेय पदार्थहरू, दही, लस्सी, मही, चटपट, पानी पुरी, साँधेको अचार, सलाद, मासुजन्य परिकार आदिको सेवनबाट फुड पोइजन हुने अत्यधिक सम्भावना हुन्छ ।’

यस्तो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको अपिल

१. खुलाठाउंमा सडक पेटीमा तयार गरी विक्री वितरण हुने खाद्य तथा पेय पदार्थहरूमा धुलो र धुवाको सङ्क्रमण भइराखेको तथा वरिपरिको परिसर फोहोर भई झिँगाको सङ्क्रमण भइराखेको देखेमा त्यस्तो खाद्य पदार्थ उपभोग नगर्ने ।

२. गर्मी याम भएकोले चिसो खाद्य तथा पेय पदार्थको माग बढेको हुन्छ, आइसक्रिम, कुल्फी, दही, लस्सी, मही, हल्का पेय पदार्थहरू, प्रशोधित पानी आदिको खपत एकदमै बढेको हुन्छ, यस्ता पदार्थहरू चिसोमानै खाइने हुनाले फुड पोइजनको अत्यधिक जोखिम हुने गर्दछ । सिलबन्दी यस्ता पदार्थहरू खरिद गर्दा लेबल अनिवार्य हेरी उपभोग्य अवधि यकिन गर्ने, उत्पादक पहिचान गर्ने र खाद्य अनुज्ञा पत्र नम्बर उल्लेख गरिएको मात्र उपभोग गर्ने गरौँ ।

३. सलाद, साँधेको अचार जस्ता खाद्य पदार्थहरू तयार गर्दा कच्चा पदार्थहरू सफा पानीले राम्रोसँग धुने, काट्ने चपिंग बोर्ड चक्कु लगायत प्रयोग गर्ने भांडाकुडाहरु र काम गर्ने कामदारको हात राम्रोसँग साबुन पानीले धोएर मात्र काम गर्नुका साथै यस्ता परिकारहरू तयार गरेको २ घण्टा भित्र उपभोग गरिसक्ने ।

४. मसलाजन्य पदार्थहरू प्रयोग गर्दा धुलो मसलाको पाकेट खरिद गर्नुको साटो आँखाले हेरेर किरा तथा ढुसी नपरेका सग्लो स्वरूपका मसलाहरू खरिद गरेर घरमै ल्याएर आफ्नै आँखाअघि पिसेर प्रयोग गर्नु राम्रो मानिन्छ । यसो गर्दा किराले खाएका ढुसी परेका विषाक्त मसलाको जोखिमबाट बच्न सकिन्छ । अन्य खाद्य पदार्थहरू समेत आँखाले स्पष्ट देखिने गरी सडे गलेको, किरा परेको, ढुसी परेको पाइएमा खरिद नगर्ने ।

५. होटेलमा खाना खान जाँदा एक पटक किचन अनिवार्य हेरेर मात्र खाद्य पदार्थ अर्डर गर्ने बानी बसालौँ । किचनमा सरसफाइको कमी भई झिँगा तथा अन्य किराहरूको सङ्क्रमण भइराखेको पाइएमा, टोइलेट सँगै किचन भएको पाइएमा, किचनमा प्रयोग गर्ने कच्चा पदार्थहरू सडे गलेको वा उपभोग्य अवधि सकिएको पाइएमा, अत्यधिक रङ्ग हालेर पकाइएका खाद्य पदार्थहरू पाइएमा वा अखाद्य रङ्ग र अन्य केमिकल राखिएको पाइएमा त्यस्तो होटेलको खानेकुरा उपभोग नगर्ने ।