सुदूरपश्चिममा २११४ जना कोरोना संक्रमित, १३५ जना मात्रै आईसोलेसनमा
2020/06/28, 7:46
 
korona

सुदूरपश्चिम प्रदेशमा शनिवार दुई सय २२८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार एक सय १४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, र धनगढी प्रयोगशालामा भएको परीक्षणमा शनिवार दुई सय २२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशका सवा २१ सय जना सय जना कोरोना संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको भएपनि एक सय ३५ जनालाई मात्र उपचारका लागि विभिन्न अस्पतालमा राखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कोरोना विशेष तोकिएको सेती लगायतका अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा एक सय ३५ जनाको उपचार भईरहेको छ ।

जसमा सबैभन्दा बढि टीकापुर अस्पतालको आईसोलेसनमा ४४ जना, डडेल्धुरा अस्पतालमा ३४ जना, महाकाली अस्पतालको आइसोलेसनमा २० जना, मालाखेती अस्पतालको आइसोलेसनमा १३ जना, सेती प्रादेशिक अस्पताल र अछाम जिल्ला अस्पतालको आइसोलेसनमा १०÷१० जना, जिल्ला अस्पताल डोटी, बझाङ, दार्चुला र बाजुरा जिल्ला अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।

अन्यलाई भने स्थानीय तहको आइसोलेसनमा राखिएको दावी स्वास्थ्य निर्देशनालयले गरेको भएपनि अधिकांश संक्रमित होम आइसोलेसनमै बसेका छन । अहिले सम्म पाँच सय ९९ कोरोना संक्रमित समान्य उपचारपछि घर फर्किएको निर्देशनालयले जनाएको छ । सरकारले नयाँ मापदण्ड जारी गरेपछि उनीहरुको दोस्रो पटक कोरोना परीक्षण भने हुन सकेको छैन ।

जसका कारण समुदाय स्तरमा संक्रमण फैलिने चिन्ता गरिएको छ । तर चिकित्सकहरुले भने संक्रमित व्यक्तिले १४ दिनपछि कोरोना अरुलाई सार्न नसक्ने बताउँदै आएका छन । नयाँ मापदण्ड अनुसार लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालको आइसोलेसनमा राखिदै आएको छ ।