
कञ्चनपुरबाट काठमाडौं उपत्यका पुगेकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको अत्तरिया क्षेत्र सील गरिएको छ । कञ्नपुरबाट अत्तरिया हुँदै काठमाडौँ गएपछि उनी बसेको अत्तरियाको विजयनगर टोललाई सील गरिएको हो । उनी वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौँ जाँदा अत्तरियामा बसेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।

गोदावरी नगरपालिका– १ अत्तरिया स्थित सशस्त्र बाहिनी अगाडीको घरमा करिब २ घण्टा बसेको उनको ट्राभल हिस्ट्री (यात्रा विवरण) बाट खुलेको हो । कञ्चनपुरबाट काठमाडौं गएकी ती महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौँ बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कञ्चनपुर पुगेकी थिइन । त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरीसँगै सशस्त्र प्रहरीकै भ्यानमा काठमा डौँ फर्किएको भए पनि अरुमा भने कोरोना संक्रमण देखिएको छैन ।
उनी सहित छोराछोरी गरी ३ जना र भ्यानमा रहेका अन्य २ जना गरी सोही साँझ कोहलपुर बसेका उनीहरु वैशाख २९ गते काठमाडौं गएका थिए । त्यस्तै, संक्रमित महिला बसेको घर लगायत उनको घर वरिपरिका ७० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने भएको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वीर बहादुर कुँवरले सबै घरहरुलाई सील गरेर स्वाब संकलन गरिने बताए ।
