‘पोष्टमार्टममा भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको देखायो’
2021/02/08, 5:03
 
dd

बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले भने, ‘पोष्टमार्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखायो ।’

उनले सामूहिक बलात्कार हो वा होईन भन्ने बारेमा थप परीक्षण भईरहेको जानकारी दिए । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ,’ उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।’

बुधवार हराएकी भट्टको बिहिवार बिभत्स अवस्थामा शव फेला परेको थियो । उक्त घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ । सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडी पुगेका छन् ।