रोजगारीको सिलसिलामा भारत पुगेका सुदूरपश्चिमवासीहरु स्वदेश फर्किनेक्रम घट्न थालेको छ । कोरोना सङ्क्रमण घट्न थालेपछि उनीहरु फर्किनेक्रम पनि घटेको हो । गएको पुस तेस्रो साताबाट तेस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि प्रदेशको विभिन्न नाकाबाट सुदूरपश्चिमेलीहरु फर्कनेक्रम बढेको थियो । पुस महिनामा गड्डाचौकी र गौरीफन्टा नाकाबाटमात्रै २९ हजार ८६१ जना फर्केका थिए । कोरोना सङ्क्रमण बढेको बेला सुदूरपश्चिमेलीहरु पनि भारतबाट फर्कन थालेपछि यहाँ कोरोना संक्रमण बढेको थियो ।
पुस तेस्रो सातादेखि माघको पहिलो सातासम्म भारतबाट फर्कने व्यक्तिहरुमा सबैभन्दा बढी सङ्क्रमण रहेको थियो । तर, पछिल्लो एक सातामा भने भारतबाट फर्कने व्यक्तिको सङ्ख्यामात्रै घटेको छैन, उनीहरुमा सङ्क्रमण पुष्टि हुनेक्रम पनि घटेको छ । माघ ११ देखि १८ गतेसम्म क्रमशः छ हजार ६५ जना नेपाल फर्किएका छन् । जसमध्ये ९.३४ प्रतिशत अर्थात ५६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयले हरेक दिन सार्वजनिक गर्दै आएको तथ्याङ्क अनुसार माघ ११ देखि १८ गतेसम्म भारतबाट फर्किएकामध्ये क्रमशः १२ प्रतिशत, १०.६३, १०.८९, ९.४७, ६.०५ र ५.१३ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्कले भारतबाट फर्कनेहरुमा सङ्क्रमण दर घट्दै गएको देखाएको छ ।
माघ ११ गते फर्किएका ९६६ मध्ये ११६, १२ गते फर्किएका ९७९ जनामध्ये १०४, १३ गते फर्किएका ९१८ मध्ये १००, १४ गते फर्किएका ९०७ मध्ये ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, माघ १५ गते फर्किएका ८७३ जनामध्ये ८१, १७ गते फर्किएका ७६० जनामध्ये ४६ र माघ १८ गते फर्किएका ६६२ जनामध्ये ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने भारतबाट फर्किने व्यक्ति घट्नुका साथै, उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि हुने दरपनि घट्दै गएको देखिन्छ ।
हुन त, अहिले भारतसहित नेपालमा नै कोरोना सङ्क्रमण दर घटेको छ । पहिलो र दोस्रो लहरको कोरोना सङ्क्रमणको क्रममा भारतबाटै कोरोना बोकेर फर्किएकाहरुका कारण समुदायमा कोरोना तीव्र गतिमा फैलिएको थियो । यसपटक भने चेकजाँच नाकामै भएपछि गतविगत जस्तो अवस्था भयावह बन्न पाएन । यस पटक नयाँ भेरियन्ट ओमिक्रोन नाकाबाटै धेरै फैलिने खतरा रहेको थियो । यसैबीच, सुदूरपश्चिम प्रदेशमा युवा पुस्तामा कोरोना संक्रमण बढी देखिएको छ ।
निर्देशनालयको तथ्याङ्क अनुसार काम गर्ने र बाहिर बढी क्रियाशील रहने उमेर समूहका व्यक्तिमा संक्रमण बढी देखिएको हो । निर्देशनालयले एन्टिजेन परीक्षणबाहेक पीसीआर विधिबाट गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि भएकाहरुको उमेर समूह अनुसार तथ्याङ्क राखेको छ । सो तथ्याङ्क अनुसार तेस्रो लहरको कोरोना सङ्क्रमणसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ४१ हजार ६६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये २०–२९ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी सङ्क्रमित भएका छन् । यो उमेरका पुरुष आठ हजार ६८८ र महिला चार हजार ३९३ गरेर १३ हजार ३१ जना कोरोना सङ्क्रमित भएको निर्देशनालयले जनाएको छ । यसैगरी, ३० देखि ३९ वर्ष उमेर समूहका पुरुष सात हजार ५८५ र महिला तीन हजार १८८ गरेर १० हजार ७७७ जना सङ्क्रमित भएका छन् । ४० देखि ४९ वर्ष उमेर समूहका पुरुष चार हजार २८० र महिला एक हजार ८५९ गरी छ हजार १३९ जना सङ्क्रमित भएको देखिएको छ ।
यसैगरी, बालबालिका र किशोरकिशोरी सङ्क्रमित हुने दर पनि कम छैन । १० देखि १९ वर्ष उमेर समूहका किशोर दुई हजार २७४ र किशोरी एक हजार २४० गरी तीन हजार ५१४ जना किशोरकिशोरी कोरोना सङ्क्रमित भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । यस्तै, ० देखि ९ वर्षका बालक ६२९ र बालिका ५४९ गरी एक हजार ३७८ बालबालिका सङ्क्रमित भएका छन् ।
यस्तै, ५० देखि ५९ वर्ष उमेर समूहका पुरुष दुई हजार ६३२ र महिला एक हजार १८३ जना गरी चार हजार ८१५ जना अधवैसे व्यक्ति सङ्क्रमित भएका छन् । ६० देखि ६९ सम्मका वृद्ध एक हजार १०५ र वृद्धा एक हजार ८५९ गरी एक हजार ७१२ जना सङ्क्रमित भएका छन् । यस्तै, ७० देखि ७९ वर्ष उमेर समूहका वृद्ध ५६० र वृद्धा ३७५ गरी ९३५ जना वृद्धवृद्धा कोरोना सङ्क्रमित भएका छन् । प्रदेशभरि ८० देखि १०० उमेरसम्मका वृद्धवृद्धापनि कोरोना सङ्क्रमित भएको निर्देशनालयले जानकारी दिएको छ । यसैबीच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको जिन सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको हो । थप तीन जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ । यो तथ्यले देशका सातै प्रदेशमा ओमिक्रोन फैलिएको पुष्टि भएको उनको भनाइ छ ।२४ घण्टामा पीसीआर परीक्षणबाट तीन हजार २०५ र एन्टीजेन परीक्षणबाट १४ सय ३२ गरेर तीन हजार ६३७ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौं जिल्लामा मात्र ८८८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरमा १७१ र ८५ जनामा संक्रमण पुष्टि भएको छ ।