
कैलालीको चुरे गाउँपालिकाको सानको रूपमा रहेको राणाकालीन शमशेरगञ्ज दरबार भत्किन थालेको छ। संरक्षण नहुँदा कैलालीको चुरे गाउँपालिका –४ मा रहेको शमशेरगञ्ज दरबार भत्किन थालेको हो। यस दरबारलाई गर्भा दरबारको नामले पनि चिन्ने गरिन्छ। पानी परेपछि दरबारको उत्तरतर्फको मुख्य खम्बासहितको एक ठाउँ भत्केको स्थानीय प्रकाश सापकोटाले बताए।

दरबारको छाना नरहेकाले यो बर्खामा लगभग आधाजति दरबार भत्कने सम्भावना रहेको स्थानीय जीवन गुरुङको भनाइ छ। उनले भने, “छाना छैन, अगाडिको मुख्य बार भत्किसक्यो। मलाई लाग्छ, यो बर्खामा आधा जति दरबार भत्किने खतरा छ।” स्थानीयका अनुसार विक्रमसंवत् १९८४ मा जर्नेल बहादुर शमशेर राणाले गर्भामा यो दरबार बनाएका थिए। नौ रोपनी जग्गाभित्र बनेको दरबार पछि बहादुरको छोरा तेजप्रकाश राणाको भागमा परेको थियो।
८३ झ्याल र ५३ ढोका भएको तीनतले दरबार तत्कालीन जनयुद्धको बेलादेखि मानव बसोवासविहीन बनेको थियो। त्यसपछि संरक्षण नहुँदा बेवारिसे बनेको शमशेरगञ्ज दरबार जीर्ण बन्दै गएको छ। यो दरबारको पूरै स्वामित्व पुरातत्त्व विभागले लिएको छ।
