सुदूरपश्चिममा परीक्षणको दायरा बढेन, रिपोर्ट नआउँदा महिना दिनसम्म क्वारेन्टाइनमै
2020/06/21, 8:02
 
korona

कोरोना संक्रमण रोकथामका लागि सात प्रदेशमध्ये संघीय सरकारबाट सबैभन्दा बढी बजेट पाएको सुदूरपश्चिमले परीक्षणको दायरा बढाउन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले  किट आई पुगेसँगै रोकिएको स्वाब संकलनको काम आईतवारदेखि सुरु भएको बताए ।

सुदूरपश्चिममा संघीय सरकारको ३६ करोड र प्रदेश सरकारको ५७ करोड रुपैयाँ निकासा भएको छ । तर, प्रदेशमा भने स्वाब संकलन गरिने भीटीएम लगायत सामग्री व्यवस्थापन गर्न सकिएको छैन । गत चैत १५ मा प्रदेश सरकारले तीन वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरे पनि हालसम्म मेसिन आइसकेको छैन ।

सुदूरपश्चिममा शनिबारसम्म १५ हजार ४ जनाको स्बाव संकलन गरिएको छ । तीमध्ये ७ सय ७० मा कोरोना पुष्टि भएको छ । ४ हजार ७ सय ५९ जनाको रिपोर्ट आउन बाँकी छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पीसीआर जाँचका लागि चहिने भीटीएम सकिँदा स्बाव संकलन नै रोकिएकोमा आईतबारदेखि सुरु भएको बताए ।

धनगढी स्थित प्रयोगशालामा रहेको केन्द्रीय पशुपन्छी विभागबाट प्राप्त एक मात्र पीसीआर मेसिनमा एक दिनमा बढीमा २ सयदेखि २ सय ५० स्वाबका नमुना परीक्षण गर्ने क्षमता छ । धनगढी उपमहानगरले करिब २ सय भीटीएम खरिद गरेर आरडीटी पोजिटिभ देखिएकाको पीसीआर परीक्षण गराएको छ । ‘आरडीटी पोजिटिभ देखिएकाको २४ दिनसम्म पीसीआर परीक्षण हुन सकेको थिएन,’ मेयर नृप वडले भने, ‘शुक्रबार आफैंले भीटीएम खरिद गरेर उनीहरूको पीसीआर परीक्षण गराएका छौं ।’ प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि स्थानीय सरकारलाई सहयोग नगरेको उनले गुनासो गरे ।

डडेलधुरामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । दुई सातामा मात्रै ९० जनामा कोरोना पुष्टि भएको छ । स्वाब संकलन गरेका ८ सयभन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय डडेलधुराका स्रोतव्यक्ती हरि भट्टले बताए । आठ सयको परीक्षण हुंँदा अहिलेसम्म १ सय ३१ जना संक्रमित देखिएका छन् । डडेलधुराका केही स्थानीय तहले पीसीआर परीक्षणका लागि आवश्यक किट समेत खरिद गरेर स्वाब संकलन गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।


संकलित स्वाबको रिपोर्ट समयमा नआउँदा कञ्चनपुरमा पनि समस्या देखिएको छ । स्वाब संकलन गरेको १०,१२ दिनसम्म पनि रिपोर्ट आउन सकेको छैन । महाकाली अस्पतालले स्वाब संकलन गरेको दिनदेखि १४ दिनसम्म आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने गरेको छ । तर कतिपयको १४ दिनसम्म पनि रिपोर्ट नआउँदा समस्या हुने गरेको हो । ‘स्वाब संकलन गरेको दुई हप्तासम्म पनि रिपोर्ट आएको छैन,’ जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भने, ‘प्रादेशिक प्रयोगशालामा स्वाब अत्यधिक भएका कारण रिपोर्ट आउन ढिलाइ भइरहेको हो ।’

अछाममा आरडीटी पोजेटिभ देखिएका, संक्रमितको सम्पर्कमा आएका र कोरोनाको लक्षण देखिएकालाई प्राथमिकतामा राखेर स्वाब संकलन गरिन थालिएको छ । स्वाब संकलन गरेर पठाएका कतिपयको रिपोर्ट नआउँदा २४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपरेको छ । हालसम्म पीसीआर परीक्षणका लागि १५ सय ६० जनाको स्वाब पठाएकोमा ७ सय ४५ जनाको मात्रै रिपोर्ट आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले बताए । स्वास्थ्य कार्यालयमा भएको भीटीएम सकिएपछि स्थानीय तहले आफैंले खरिद गरेर व्यवस्था गरिरहेका छन् ।