सुदूरपश्चिममा संक्रमण समुदायमा फैलने जोखिम
2020/08/06, 11:33
 
Korona

सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेको छ । पर्याप्त सावधानी नअपनाउँदा संक्रमण समुदाय उन्मुख भएको चिकित्सकहरुले बताएका छन् । विदेश यात्रा नगरेका व्यक्तिहरुमा पनि धमाधम संक्रमण देखिन थालेपछि कोरोना संक्रमण समुदायमा महामारीका रुपमा फैलने जोखिम बढेको हो । कैलालीको कैलारी गाउँपालिकामा मंगलबार तीन जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भयो ।

वैदेशिक ‘ट्राभल हिस्ट्री’ नभए पनि क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाले उनीहरु भारतबाट फर्केकाहरुको सम्पर्कमा रहेको पाइएको छ । गोदावरी नगरपालिकामा पनि ‘ट्राभल हिस्ट्री’ नभएका आठ जनामा हालै कोरोना संक्रमण पुष्टि भएको छ । यी दुई त उदाहरण मात्र हुन् ।

सुदूरपश्चिम प्रदेशमा विदेश नगएका कयौं व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ । यी घटनाहरुले संक्रमण समुदाय उन्मुख हुन थालेको विश्लेषण गरिन थालेको छ । विज्ञ चिकित्सकहरुले पनि यसलाई स्वीकार गरेका छन् ।

स्थानीय व्यक्तिहरुमा कोरोना संक्रमणको केस देखिनुले संक्रमण समुदाय उन्मुख रहेको संकेत गर्ने विज्ञहरुको विश्लेषण छ । भारतबाट फर्केकाहरुबाट संक्रमण समुदायमा पुग्न थालेको हो । समुदायमा संक्रमण फैलिए अवस्था विकराल हुनसक्ने देखिए पनि संक्रमण नियन्त्रणका लागि आवश्यक सावधानी अपनाएको पाइदैन ।

समुदायमा संक्रमण फैलिए नियन्त्रण गर्न नसकिने अवस्था हुनसक्छ तर संक्रमण फैलन नदिन प्रदेश र स्थानीय तहहरुले गम्भीरता देखाएका छैनन् । लकडाउन खुलेसँगै जनस्वास्थ्यको सावधानी नअपनाउँदा संक्रमण बढेको छ ।

सुदूरपश्चिममा पछिल्लो सयम कोरोना संक्रमण पुनः तीव्र बन्न थालेको छ । एक सातामै यहाँ चार सय ६८ जना संक्रमित थपिएका छन् । प्रदेशभर संक्रमितको संख्या चार हजार सात सय एक पुगिसकेको छ । कैलालीमा मात्रै एक हजार दुई सय ६० जनामा संक्रमण देखिएको छ ।

ट्राभल हिस्ट्री नभएकाहरुमा संक्रमण बढ्दो छ । भारतबाट फर्केका संक्रमितको सम्पर्कका कारण कहीँ यात्रा नगरेकामा पनि संक्रमण देखिन थालेको हो । यद्यपि, अहिलेसम्म अधिकांश संक्रमित भारतबाट फर्केकाहरु रहेका छन् ।

भारतबाट फर्केकाहरुलाई परीक्षणविनै घर पठाइनु तथा क्वारेन्टाइनबाट घर फर्किसकेपछि पोजेटिभ रिपोर्ट आउनुले संक्रमण समुदाय उन्मुख देखिएको चिकित्सकहरुको भनाइ छ । दैनिक सयौँ व्यक्ति प्रदेशका विभिन्न नाकाबाट स्वदेश फर्किरहेका छन् । तर स्थानीय तहहरुले भारतबाट फर्केकालाई क्वारेन्टाइनमा नराखेर स्वास्थ्य जाँचविनै सिधै घर पठाउने गरेका छन् ।

साउनको सुरुदेखि नै यहाँका अधिकांश स्थानीय तहले क्वारेन्टाइन बन्द गरेका छन् । धनगढी उपमहानगरले १ साउनदेखि क्वारेन्टाइन बन्द गरेर भारतबाट फर्केकालाई सिधै घर पठाइरहेको छ । सिधै घर पठाउँदा संक्रमण समुदायमा फैलने जोखिम बढेको छ । त्यसैले संक्रमण समुदायमा फैलन नदिन भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राखेर कोरोना जाँच गरेपछिमात्र घर पठाउने, समुदायमा परिक्षणको दायरा विस्तार गर्नुपर्छ ।

लकडाउन खुलेपछि आमनागरिकले स्वास्थ्य सतर्कता अपनाएको पाइदैन । मास्क नलगाउने, सरकारी कार्यालयहरुमा भीडभाड हुने देखिदै आएको छ । त्यसैले स्वास्थ्य सावधानी अपनाउन कडाइ गर्नेतर्फ पनि सरोकारवाला निकायले ध्यान दिनुपर्छ । संक्रमण समुदायमा फैलिए महामारीको रुप लिनसक्ने भएकाले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जरुरी भइसकेको छ ।