भारत-पाकिस्तान द्वन्द्व: सीमा क्षेत्रमा यसरी गर्दैछ एपीएफले पेट्रोलिङ [तस्बिरहरू]
2025/05/08, 7:48
 
ss

भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बलले पेट्रोलिङ गरिरहेको छ । पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ । मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोलिङ गरिएको छ ।

 

एसएसबीसँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोलिङ वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।त्यस्तै सीमा क्षेत्रका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ । सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको एपीएफले जनाएको छ । सशस्त्र प्रहरीको नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत कार्यालयहरूबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको प्रवक्ता थापाले बताए ।

मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि एपीएफले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो । भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो ।