
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ।
उनले डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण भएको दिनेश खवरलाई जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय ३३ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
डोटीमा नौँ सय एक, अछाममा सात सय ७०, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका तीन सय १५, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका चार हजार तीन सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ।