
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीको धनगढी उपमहानगरपालिका पहिलो भएको छ । यहाँका १३ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्यांकन गर्दा धनगढी उपमहानगरपालिकाले ६३ दशमलव ३ अंक प्राप्त पहिलो भएको हो ।

त्यसैगरी जानकी गाउँपालिकाले ६३ दशमलव १ अंकसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने घोडाघोडी नगरपालिका ६२ दशमलव ७ अंकसहित चौथो स्थानमा रहेको छ । त्यसैगरी पाँचौँ स्थानमा गोदावरी नगरपालिकाले ५८ दशमलव ७ अंक ल्याएको छ भने छैटौँ स्थानमा ५४ दशमलव ६ अंकसहित कैलारी गाउँपालिका रहेको छ ।
उता टीकापुर नगरपालिका ५२ दशमलव ७ अंकसहित सातौँ, जोशीपुर गाउँपालिका ५० दशमलव ४ अंकसहित आठौँ, गौरीगंगा नगरपालिका ४७ दशमलव १ अंकसहित नवौँ र भजनी नगरपालिका ४७ दशमलव १ अंकसहित दशौँ स्थानमा रहेको छ । लम्की चुहा नगरपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिकाले क्रमशः ४४ दशमलव ४, ४० दशमलव ५, र ३९ दशमलव २ अंक प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा रहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धी विवरण प्रकाशित गरेको थियो । आयोगले प्राप्त अंकमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन भनेको छ ।