
धनगढीः कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
गोली लागेर गम्भीर घाइते भएका सोही ठाउँका ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलीकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि प्याकुरेललाई हेलीकोप्टरमार्फत काठमाडौँ लगिएको हो । अर्का घाइते १८ वर्षीय दिपक सन्ज्यालको भने नेपालगञ्जमै उपचार भइरहेको छ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै प्रर्दशन गरेका थिए । इलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
