
धनगढी : कोभिड सङ्क्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले कोरोना भाईरसको जोखिम कायमै रहेको बताउँदै भीडभाड गरेर होली नमनाउन आग्रह गरेका हुन् । ‘पछिल्लो ४/५ दिनको अवधीमा भारतबाट आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ,’ रिजालले भने, ‘त्यसैले यस बर्ष भीडभाड गरेर होली नबनाउन आग्रह गरेका हौँ । आज हामी निर्णय पनि गर्दैछौ ।’

फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले कैलालीमा पनि जोखिम छ ।
उता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएको र सीमा जिल्ला कञ्चनपुरमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो । मङ्गलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले विभिन्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ । यस्तै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आदेश गरिएको छ ।

गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने छ । अन्य नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द हुने आदेशमा उल्लेख छ । त्यसैगरी अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र मापदण्डको पूर्ण पालना गरी गर्न पाउने भनिएको छ ।सबै व्यक्तिहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने लगायतका आदेश जारी गरिएको छ । आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ ।
यस्तै बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो । यस्तै घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।