अछाममा यस पटक नयाँ वर्ष र चैते दसैंको रौनक एकसाथ छाएको छ । यसपालि नयाँ वर्षपछि चैतेदसैं परेकाले दुवै पर्वको रौनकता एकसाथ छाएको हो । नयाँ वर्षको दिन देवर/भाउजू, नन्द/भाउजू र साली/भिनाजुले एकआपसमा सिस्नु लगाएर शुभकामना दिन्छन् ।
पुतला खेलेर पनि नयाँ वर्ष मनाउने चलन छ । गाउँका सार्वजनिक स्थलमा पुतला खेलले रौनकता छाएको छ । भारत गएकाहरू गाउँ फर्किएका छन् ।
विषेशगरी बिसुमा सेलरोटी, मासको फाँडो, भात, मासको बटुक, फाउने माडा मुख्य परिकार भएको अछाम मंगलसेन–५ कि झुमा भाटले बताइन् । ‘विवाह गरेका छोरी, नन्दहरू माइतीघरमा आउने र रमाइलो गर्ने चलन छ’ उनले भनिन् , ‘देवर/भाउजू, नन्द/भाउजू र साली/भिनाजुले एक आपसमा सिस्नु छ्याप्ने र चिलाउँदै रमाइलो गर्छन् । यो चलन जिल्लाभर नै छ ।’ वर्षको सुरुआतमा रमाइलो गर्ने, मिठो परिकार बनाएर खुवाउँदा सामाजिक एकता, सद्भाव कायम हुने र वर्षभरि सुख, शान्ति र समृद्धि आउने विश्वास रहेको स्थानीय बताउँछन् ।
‘नयाँ वर्षमा मनाइने यो पर्वका दिन प्रत्येक घरमा ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ । यो पर्वमा इष्टकुलदेवताको पूजा पनि गरिन्छ’ ढकारी गाउँपालिका–७ का सिद्ध साउदले भने, ‘सिस्नुपानी छ्याप्दा शरीरको छालासम्बन्धी रोग निर्मूल हुने विश्वास छ । त्यसैले एकआपसमा सिस्नुपानी
छ्यापेर रमाइलो गर्छन् ।’ बिसु पर्वका दिन प्रत्येक घरमा दहीमा भिजाएर तयार पारिएको ‘दही–चामल’ प्रसादको रूपमा छरछिमेकमा बाँडेर खाने चलन रहेको उनले बताए ।
महिलाहरू जमघट भई सुख दुःखका कुरा र रमाइलो गर्ने पर्वको रूपमा पनि बिसु पर्वको लिने गरेको मंगलसेन–६ कि नामसरा भण्डारीले बताइन् । ‘सधैं काममै व्यस्त हुने जेठानी/देवरानीले यो बेला फुर्सद गरेर पुत्ला नाच, देउडा खेलेर बिसु पर्व मनाउँछन्’ उनले भनिन्, ‘पुत्लामा सबैले एउटै पहिरन लगाएर बैग्लै भाका र लयका साथ छोरीका दुःख, माइतीको सम्झना र देउताका देउडा गाउँने गर्छन् ।’ अहिलेका पुस्ताले रमाइलो मात्रै गर्नको लागि नयाँ वर्ष मनाउने गरेको उनको बुझाइ छ । मौलिक संस्कृतिको महत्त्वबारे बुझ्नै नचाहेको उनी बताउँछिन् ।
घर पोत्न माटोको जोहो
चैतै दसैं नजिकिएसँगै रोजगारी र अध्ययनको सिलसिलामा घर बाहिर भएकाहरू गाउँ फर्किने क्रम पनि बढेको छ । गाउँमा महिलाहरू रातो र कमेरो माटो खोज्नमा व्यस्त छन् । विशेषगरी चैतेदसैंमा पूरै घर पोत्नुपर्ने प्रचलन भएकाले घण्टौं हिँडेर माटो ल्याउने गरेको मंगलसेन–८ सुतुडाकी रमना खनालले बताइन् ।
‘कमेरो माटो त घर छेउमै पाइन्छ । तर रातो माटो लिन ४/५ घण्टा नै हिँड्नुपर्छ’ उनले भनिन्, घरमा कसैको मृत्यु भएको वर्ष पूरै घर पोत्न मिल्दैन । अशुद्ध भएको घरलाई चोख्याउन कमेरो र रातो माटोले पोत्नुपर्छ ।’ सुतुडाकै लाली बोहरालाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै दसैं आएजस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिला जम्मा भएर मंगलसेन–३ मा रहेको गाद्धेका माटो लिन जान्छन् । ‘पक्की घर हुनेहरू चुना लगाउॅछन् । कच्ची घरमा रातो माटो र कमेरो नै लगाउँछौं’ उनले भनिन्, ‘माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ ।’
घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनुपरेको बोहराले बताइन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’ गाउँमा पक्की घर छिटफुट मात्रै छन । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीयले सुनाए
कुलदेउता खुसी पार्न बर्सेनि घर लिपपोत गरिने स्थानीय बताउँछन । घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने अछाम वीरपथकी नमिता शाहीले बताइन् ।
उनी घर पोत्ने तयारीमा छिन् । ‘हामीले सधैं पूरै घर रातो माटोले पोत्छौं,’ उनले भनिन्, ‘आफैं खनेर ल्याउछौं । बजारको रङ लगाएर शुभ हुँदैन भन्ने मान्यता छ ।