सुदूरपश्चिममा निषेधाज्ञापछि संक्रमण झन फैलियो, १८ दिनमा १५ हजार संक्रमित बढे
2021/05/17, 3:07
 
aa

१६ बैशाखदेखि कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागु भयो । बैशाखकै तेस्रो सातादेखि सुदूरपश्चिमका अन्य जिल्लामा पनि निषेधाज्ञा लगाइयो । तर निषेधाज्ञको अवधिमा नै कोरोना भाइरसको संक्रमण दर र मृत्यु दर भने झनै बढेको छ । प्रदेशमा रहेका कुल संक्रमित मध्ये झण्डै आधा संक्रमित निषेधाज्ञाको १८ दिनको अवधिमा थपिएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार १५ बैशाखसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४७५ थियो । १६ बैशाखदेखि जेठ २ सम्मको १८ दिन (निषेधाज्ञाको अवधि) मा १४ हजार ९४५ जना संक्रमित थपिएका छन् । योसंगै सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ३० हजार ४२० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निषेधाज्ञा जारी भएपछि सुदूरपश्चिम प्रदेशमा झण्डै ५५ हजारको कोरोना परीक्षण भएको छ । निषेधाज्ञाको अवधिमा कोरोना भाइरसको संक्रमण दर मात्रै नभएर मृत्यु दर पनि बढेको छ । १५ बैशाख सम्म अर्थात कोरोना संक्रमणबाट प्रदेशमा पहिलो मृत्यु भएको ११ महिनासम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६६ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङकमा उल्लेख छ । तर निषेधाज्ञाको १८ दिनको अवधिमा मात्रै प्रदेशमा थप २६८ जनाको ज्यान गएको छ । औसतमा दैनिक १५ जना संक्रमितले ज्यान गुमाइरहेका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ३४ पुगेको छ । 

निषेधाज्ञा लागु भएको एक सातासम्म कोरोना भाइरसको संक्रमण र मृत्युदर धेरै बढि थिएन् । १६ गते २४६, १७ गते १९१, १८ गते ४३३ जना, १९ गते ४७४, २० गते ३४३, २१ गते ६९९ र २२ गते ३८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्याङक छ । निर्देशनालयका अनुसार वैशाख २३ गते ७८५, २४ गते ७५७, २५ गते ७५६,  २६ गते एक हजार ६७, २७ गते ६८९, २८ गते ८१८, २९ गते ८५७, ३० गते ८१०, ३१ गते ९६४, जेठ १ गते ७७४ र २ गते एक हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै वैशाख १६ गते चार, १७ गते चार, १८ गते १८, १९ गते १२, २० गते १४, २१ गते ८ र २२ गते ११ जनाको मृत्यु भएको छ । वैशाख २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७, ३१ गते ३०, जेठ १ गते १६ र २ गते २१ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा कोभिड विभाग हेर्दै आएका डा. निराजन शर्मा पौडेल चेन ब्रेकका लागि दुई साताको निषेधाज्ञा मात्रै पर्याप्त नभएको बताउँछन् । ‘दुई साताको निषेधाज्ञाले मुभमेन्ट कम गरेपछि परीक्षण बढाउँदै हाम्रो क्षेत्रमा कति जना कोरोना संक्रमित छन भन्ने थाहा भयो,’ उनी भन्छन्, ‘गर्मी मौसम सुरु भइसकेकोले अझै एक महिनासम्म संक्रमण दर बढ्न सक्ने सम्भावना हुन्छ । सुख्खापनले यस्ता भाइरस सार्ने सम्भावना झनै बढाउने गरेको छ ।’ यता प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने निषेधाज्ञामा परीक्षण नै बढि भएकाले संक्रमण बढि देखिएको बताए । ‘स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि कोरोना परीक्षण पनि हामीले बढाएका थियौँ । त्यसैले संक्रमण दर बढेको देखिएको हो । मृत्युदर बढि हुनुको कारण भने उपचार सेवा प्रभावकारी नहुनु नै हो,’ उनले भने । उनले भारतबाट सुदूरपश्चिम फर्कने क्रम नघटेको बताउँदै भने, ‘पछिल्लो सातादेखि भारतबाट स्वदेश फर्किएका लगभग सबैमा संक्रमण पुष्टि भएको छ ।’ उनले अस्पतालहरुमा अक्सिजन, आइसियू र भेन्टिलेटरको मागअनुसार सुविधा नहुँदा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या बढेको स्विकार गरे ।