डोटीको दिपायल सिलगढी नगरपालिकाका टेकबहादुर कठायतले भारतमा काम गर्न थालेको ४६ वर्ष भयो । १४ वर्षको कलिलो उमेरदेखि काम गर्न भारत जान थालेका उनी अहिले ६० वर्षका भए । उमेर ढल्किंदै जाँदा पनि पौरख नमरेको बताउने उनी हरेक वर्ष कामको खोजीमा भारत जान्छन् ।
दशैं मनाउन घर फर्किएका उनी १४ असोज २०७८ मा गौरीफन्टा नाकामा भेटिए । भारतमा होटलका भाडा धुने, कपडा धुने, शौचालय सफा गर्नेदेखि इँटा बोक्ने काम गर्ने कठायत अहिले घर बनाउने डकर्मीको सहयोगीका रूपमा काम गर्दै आएका छन् ।
‘घरपरिवारमा मेलमिलाप पनि खासै राम्रो थिएन । आर्थिक अभावले साँझ–बिहान के खाउँ के लाऔं भन्ने अवस्था थियो’ पुराना दिन सम्झँदै टेकबहादुर भन्छन्, ‘नोकरीको खोजीमा १४ वर्षको हुँदा म मुग्लान गएको हुँ । शुरुका दिनमा होटलमा भाडा माझ्ने काम गरें । पछि अरू काम गर्दै गएँ ।’
कामको खोजीमा भारत छिर्ने सुदूरपश्चिम पहाडको गाउँबस्तीका युवाको आर्थिक, सामाजिक बाध्यताले नेपाली राज्यसत्ताको कुरुप चित्र उदाङ्गो बनाउँछ । तीन पुस्तादेखि कामको खोजीमा भारत गएर पसिना बगाउनेहरूको कथा–व्यथा ।
कठायतको जीवनको उर्वर समय उतै बित्यो । यस्तै चाडबाडमा बेलाबखत कहिलेकाहीं मात्रै स्वदेश आउँथे । गाउँमै सानो पसल थियो । बुवा पनि उनी सानो भएको बेलादेखि नै भारततिर कामको खोजीमा जाने गर्थे । ‘बुवा पनि काम गर्न मुग्लान जानुहुन्थ्यो भन्ने सुनेको हो । हामी सानै थियौं पछि त उहाँ डोटीमै सानो पसल गरेर बस्नुुभएको सम्झना छ’, उनले भने ।
टेकबहादुरको परिवारमा कस्तो छ भने उनका बुबा भारतमै काम गर्न जान्थे । टेकबहादुर ४६ वर्षदेखि भारत आउजाउ गरिरहेका छन् र उनका आधा उमेरका छोरा दीपक कठायत पनि अहिले भारतमै काम गर्छन् । काँधमा बोरा र हातमा झोला बोकेका टेकबहादुरले भने, ‘बुवाले आफ्नो पूरै जीवन भारतमा बिताउनुभयो, मैले त भारतलाई नै कर्मभूमि बनाएँ, अब मेरो छोरो पनि उतै काम गरिरहेको छ । देश भन्नु त हाम्रो तीन पुस्ताका लागि चाडबाडमा घर आउने ठाउँ मात्रै भयो ।’
टेकबहादुरसँगै दशैं मान्न डोटी फर्किएका दीपक एउटा प्राइभेट कम्पनीमा अपरेटरको काम गर्छन् । बुवासँग भारतमै हुर्केका उनी कमजोर आर्थिक अवस्थाका कारण ८ कक्षाको पढाइ छोडेर १५ वर्षको उमेरदेखि मजदूरी गर्न थालेको बताउँछन् ।
‘बुवाले कमाएको पैसाले घरपरिवारलाई खान–लगाउन नपुग्ने भयो । पछि मैले पनि बीचमै पढाइ छाडेर काममा लाग्नु पर्यो’ दीपक भन्छन्, ‘म भारतमै जन्मिए पनि नेपाली नागरिक हुँ । आफ्नो देशको माया लाग्छ तर के गर्नु यहाँ काम पाइँदैन, त्यसैले भारतमा बसेर काम गरिरहेको छु ।’
***
बझाङको चैनपुरका कलक थापा २० वर्षको उमेरदेखि परदेशमा पसिना बगाउँदा बगाउँदा दिक्क छन् । आफ्नो देशमा रोजगारीको अवसर नै नपाइने कुरा बुझेर पनि ‘फेरि भारत नजाने’ बाचा सहित उनी पाँच वर्ष अघि बैङ्लोरबाट घर फर्किएका थिए । स्वदेशमै केही गर्नुपर्छ भनेर बझाङ फर्किंदा उनीसँग जोश–जाँगर थियो । हरसम्भव कोशिश पनि गरे ।
तर कतै केही गर्दा पनि काम पाइएन । कामका लागि कैलालीदेखि काठमाडौंसम्म धाए केही भएन । त्यसपछि उनी गाउँमै खेतीपाती गरेर भए पनि जीविका चलाउने निर्णयमा पुगे । पहाडमा भएको १५ नाली (करीब ४ रोपनी) जग्गामा खेतीपाती गरेर उत्पादन हुने मकै, गहुँ, दाल बिक्री गरेर केटाकेटी पाल्ने अठोट गरेका उनलाई त्यो उब्जनीले साँझ बिहानकै छाक टार्न मुश्किल पर्न थाल्यो ।
थापा फेरि मुटुमाथि ढुङ्गा राखेर भारततिर हान्निए । ४५ वर्षका थापा अहिले भारत काम गर्न जान थालेको ठीक २५ वर्ष पुग्यो । ‘घर परिवार चलाउन काम गर्नै पर्यो । नेपालमा कुनै काम पाइँदैन’ थापाले भने, ‘पहाडमा थोरै जमीन छ त्यहाँको उत्पादनले साँझ–बिहानको छाक पनि टर्दैन । अरूतिर अवसर नमिले पनि खेतीपाती गर्दा केही प्रगति नभएर फेरि भारत जानुको विकल्प भएन ।’
चार जना छोराछोरीको पढाइ खर्च, लत्ताकपडा तथा दैनिक खर्चमै कमाएको पैसा ठिक्क हुने उनी बताउँछन् । कलक मात्र होइन उनका बुवा गगनले पनि भारतमा भारी बोक्ने काम गरेर जीवन निर्वाह गरे । बाजे पनि भारत आउने–जाने गरेको सुनेको बताउने कलक बुवाले उत्तराञ्चल प्रदेशका विभिन्न पहाडी भेगमा भारी बोक्ने, स्याउ टिप्ने, ढुङ्गा फुटाउने जस्ता काममा आफ्नो उर्जावान् समय बिताएको बताउँछन् । ‘हाम्रो बुवा उत्तराञ्चल प्रदेशमा भारी बोक्ने काम गर्नुहुन्थ्यो । उहाँले भारी बोकेरै कमाएको पैसाले हामीलाई हुर्काउनुभयो’ थापाले भने, ‘बुवाले भारी बोकेर मात्रै नधान्ने भएपछि हामी (दाजु र म) पनि उतै गएर काम गर्न थाल्यौं ।’
***
डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का रमेश बोहरा ४५ वर्षका भए । २० वर्षको तन्नेरी उमेरदेखि रोजगारीको खोजीमा भारत पसेका बोहराले उतै काम गर्न थालेको २५ वर्ष पुग्यो । गुजरात राज्यको सुरत शहरमा रहेको एउटा कपडा उद्योगमा काम गर्दै आएका उनलाई अहिले आफ्नै देश बिरानो जस्तो लाग्छ ।
चाडपर्वका बेला केही दिनका लागि घर फर्किने उनको बाँकी समय कम्पनीकै काममा बित्छ । उनका बुुवा र बाजे समेत भारतमा मजदूरी गर्थे । भारतमा मजदूरी गरेवापत पाइने ज्यालाले बाजेले बुवा, काका र फुपूहरूलाई हुर्काए त बुवाले बोहरा सहित उनका दाजुभाइको भरणपोषण गरे । कलिलै उमेरदेखि भारत जान थालेका बाजे कालु बोहराले चौकीदारी गरेर आफूहरूलाई हुर्काएको रमेशका बुवा अर्जुनले सुनाएको रमेश बताउँछन् । अर्जुन पनि स्वदेशमा काम नपाइने भएपछि १३/१४ वर्षकै उमेरमा भारत पसेका थिए ।
‘हाम्रो बाजेले भारतमै चौकीदारी गरेर हामीलाई हुर्काएको कुरा बुवाले बताउनुहुन्थ्यो । उहाँहरूका दिन उतै बिते’ रमेश भन्छन्, ‘पछि बुवाको जीवन पनि भारतमै चौकीदारी र मालिकको काम गर्दै बित्यो । त्यसवापत आउने ज्यालाले हामीलाई हुर्काउनुभयो । अहिले हाम्रो जीवन पनि उतै काम गरेर बित्ला जस्तो भइसक्यो ।’
रमेशको भनाइमा नेपालमा काम पाए उनीहरू भारत जाने थिएनन् । ‘अर्काको देशमा पसिना बगाउने रहर कसलाई पो हुन्छ र ? घर–व्यवहार चलाउन, छोराछोरीको पालनपोषण र पढाइ खर्च जुटाउन हामी भारत जान्छौं’ उनले भने, ‘मेरो तीन पुस्ताले भारतीय भूमिमै काम गर्दागर्दै जीवन बिताए । अब छोराहरूको पुस्ताले पनि यहाँ काम नपाएर उतै जानुपर्ला जस्तो अवस्था छ ।’
***
कैलालीको गौरीगंगा नगरपालिकाका रामबहादुर बिकले २३ वर्ष भारतमा सेक्युरिटी गार्ड (चौकीदार) को काम गरे । १९ वर्षको उमेरदेखि भारत जान थालेका बिकले शुरूका दिनमा अरूले जस्तै भाँडा माझ्ने, झाडूपोछा लगाउने काम गरे । २३ वर्ष भारतमा काम गर्दाको अनुभव सुनाउँदै बिकले भने, ‘वाच म्यान काम गर्दा राति–राति डिउटी गर्नुपर्थ्यो । छोराछोरी स–साना थिए उनीहरूको पालनपोषण गर्न पैसा चाहियो । नेपालमा काम नपाइएपछि भारत गएँ उतै आधा जीवन बित्यो ।’
अहिले उनका छोराहरू पनि भारतमै काम गर्छन् । छोराहरू गोपाल, विक्रम, कमल र जीवन पनि बुवाले जस्तै काम गर्छन् । उनीहरू पनि होटल सरसफाइ गर्ने, गाडी चलाउने लगायतका काम गरेर जीवन चलाइरहेका छन् । रामबहादुर भन्छन्, ‘मेरो आधा जिन्दगी भारतमै काम गरेर गयो । छोराहरूको पनि त्यही हाल छ । नातिका दिन त केही होला भन्ने आशा थियो तर खै त्यो दिन पनि देख्न पाइएला जस्तो छैन ।’
उनले पीडा पोख्दै भने ‘स्वदेशमा राज्यले रोजगारी दिएको किन विदेशिनुपर्थ्यो र ? आफ्नो देश आफ्नै हुन्छ अर्काकोमा गाली सुनेर काम गर्न को जान्छ रहरले ?’
***
दशैंको टीका थाप्न घर फर्कने मात्रै होइन, साइतको टीका छाडेर कामको खोजीमा भारत छिर्नेहरू पनि छन् सुदूरपश्चिममा । यस्तै मध्ये एक हुन् बहादुरे थापा । असोज दोस्रो साता कैलालीको गौरीफन्टामा भेटिएका थापाले नाकामै बसेर आफ्नो बाध्यताको कथा सुनाए ।
छोरा गौरवसँगै रोजगारी खोज्न भारत गइरहेका बाजुराका थापाले भारतमा काम गर्न थालेको २४ वर्ष भयो । चाडपर्वले घर त सम्झाए पनि दुःख बदल्दैन । त्यसैले उनी दिनहुँ भारी बोक्छन् । पाठपूजाका लागि भन्दै १० दिनको विदा लिएर नेपाल फर्किएका थापाका बाबु–छोरा हतास मुद्रामा फेरि भारत फर्किरहेका थिए ।
‘हेर्नुस् आफूले त भारतमा पसिना बगाउँदा बगाउँदै जीवन उतै बिताएँ । छोराहरूको जीवन पनि उतै बित्ला जस्तो भइसक्यो । आफ्नो गाउँठाउँमा रोजगारी छैन’, उनले भने । उनका छोरा गौरवले घरायसी बाध्यताले अर्काको देशमा काम गर्न तयार हुनुपर्ने अवस्था रहेको बताए । ‘पढाइ गरिरहेको थिएँ तर बुवाको कमाइले मात्र खर्च धान्ने नदेखेपछि ११ कक्षाको पढाइ छोडेर कामको खोजीमा निस्किएँ’ गौरवले भने, ‘अहिले सेक्युरिटी गार्डको काम गर्दै आएको छु । स्वदेशमै अवसर पाएमा फर्किने धोको छ ।’
***
अछामको रामारोशन गाउँपालिका–४ का रामबहादुर बोहरा भारत जान थालेको १८ वर्ष भइसक्यो । १४ वर्षको उमेरमा पढाइ छाडेर कामको खोजीमा भारततिर हानिएका बोहरा अहिले ३२ वर्षका भए तर उनको भारत यात्रामा पूर्णविराम लाग्ने छाँट अझै छैन । दशैंको मुखमा टीका र घरपरिवार छाडेर कर्मथलो फर्किने क्रममा कैलालीको गौरीफन्टा नाकामा भेटिएका बोहरा १२ दिनअघि मात्र स्वदेश फर्किएका रहेछन् ।
मुम्बईको यात्रामा हिंडेका उनीसँग शुरूका दिनमा भारतका होटलमा भाँडा माझ्ने, झाडूपोछा लगाउने काम गरेको अनुभव छ जुन धेरै नेपालीले गर्छन् । पछिल्लो समय उनी राम्रो ठाउँमा काम पाउन थालेका छन् । अहिले एउटा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने गरेका उनी चरम गरीबीका कारण ६ कक्षाको पढाइ छाडेर भारत पसेका थिए । बोहराका बुवाले पनि भारतमै मजदूरी गरेर चार भाइबहिनी हुर्काएका थिए भने बाजेले पनि भारतमै जीवन बिताएको उनी बताउँछन् ।
तीनै पुस्ताका लागि भारतको भर
यी प्रतिनिधिपात्र मात्रै हुन् । सुदूरपश्चिमका धेरै परिवारका तीन पुस्ताले भारतमै ज्यालादारी गरेर जीवननिर्वाह गरेका छन् । अबको चौथो पुस्ताले पनि उतै धाउनुपर्ने बाध्यताको अन्त्य हुने छाँटकाँट देखिंदैन । वर्षेनि के–कति मानिस कामको खोजीमा भारत पस्छन् भन्ने तथ्यांक समेत कुनै पनि निकायसँग छैन ।
खुला सीमा नाकाका कारण उनीहरूको विवरण अद्यावधिक गर्न नसकिएको भन्दै सरकारी निकायहरू पन्छिने गरेका छन् । ९ मध्ये कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुरा गरेर पाँच जिल्ला भारतसँग सीमा जोडिएका कारण पनि काम गर्न जान सजिलो पहुँचमार्ग छ । विशेषगरी यहाँ ६ महीना भारतमा काम गरेर ६ महीना खेतीपाती गर्नेहरूको जनसंख्या ठूलो छ ।
यकिन विवरण नभए पनि कुल जनसंख्या करीब २८ लाखको ३० प्रतिशत अर्थात् करीब साढे आठ लाख मानिसहरू रोजगारीको खोजीमा भारत जाने–आउने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका मानिस भारत जाने गरेका छन् । भारतमा बढीजसो मौसम अनुसारको कामको खोजीमा जानेहरू हुन्छन् ।
सुदूरपश्चिमेली नेपाली समाज भारतका अनुसार त्यहाँका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा झण्डै ५० लाख नेपाली मजदूरका रूपमा काम गर्छन् । समाजका अध्यक्ष दीपकप्रकाश मल्ल त्यसमा सुदूरपश्चिम घर भएकाहरूको संख्या मात्रै १० देखि १५ लाखको हाराहारीमा रहेको बताउँछन् ।
‘१२/१४ वर्षको उमेरदेखि ७० वर्षसम्मका सुदूरपश्चिमका मानिसहरू भारतका विभिन्न राज्यमा होटल, कलकारखाना, खेतबारीमा काम गर्ने गरेका छन्’ मल्लले भने, ‘बढीजसो हाम्रा दाजुभाइ भारतमा चौकीदारीका लागि जाने गर्छन् । त्यसबाहेक उत्तराखण्ड, हिमाञ्चल प्रदेशमा बढीजसो मौसम अनुसारको काम गर्न जाने क्रम पनि बढ्दो छ ।’
मल्लका भनाइमा ठूलो संख्यामा सुदूरपश्चिमवासी भारतमा वर्षभरि काम गरेर कहिलेकाहीं चाडपर्वका बेला मात्र स्वदेश फर्किने गर्छन् । वर्षभरि अर्काको देशमा घाम पानी नभनेर वर्षौंदेखि काम गर्दै आएको जनशक्तिलाई सरकारले स्वदेशमै काम गर्ने वातावरण सिर्जना नगरेको प्रति उनीहरूको गुनासो छ ।
‘हाम्रो प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्न सकिने सम्भावनाका धेरै क्षेत्र छन् । उद्योग, होटल, पर्यटन क्षेत्र, विभिन्न विकासका परियोजनाहरू त्यसका प्रमुख उदाहरण हुन्’ मल्ल भन्छन्, ‘तर यहाँका स्थानीय तह र प्रदेश सरकारले खासै चासो दिएको देखिंदैन । जसका कारण स्वदेशमा काम गर्न इच्छा भएर पनि प्रदेशवासी भारतमै पसिना बगाउन बाध्य छन् ।’