गणतन्त्रपछि सुदूरपश्चिमको एक मात्रै उपलब्धीः गेटा मेडिकल कलेज
2020/11/22, 6:32
 
geta pradarshan

नवराज पनेरु - देशमा गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिमवासीका अपेक्षा पनि धेरै थिए । एकात्मक राज्यसत्ताबाट हेपिएको सुदूरपश्चिमले संघीयताको कार्यान्वयनसंगै काचुली फेर्छ की भन्ने आशा पनि थियो । बर्षाैदेखि चर्चामा रहेका तर सुरुवात समेत नभएका आयोजना सुरु हुन्छ की भन्ने अपेक्षा थियो । तर पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर, सेती लोकमार्ग, महाकाली करिडोर, धनगढी दीपायल द्रुत मार्ग, सुख्खा बन्दरगाह, औद्योगीक क्षेत्र लगायतका योजना अहिले पनि ओझेलमा छन् ।

1

अधिकासं आयोजनाको निर्माण समेत सुरु भएको छैन् भने निर्माण सुरु भएका योजना बषौदेखि अलपत्र छन् । जस्ले गर्दा सुदूरपश्चिम वासीमा गणतन्त्रप्रति निराशा बढ्दै गयो । तर २०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेपछि प्रदेशवासीमा खुसीको सञ्चार भयो । तर वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्नुपर्ने भएपछि वनले बर्षाैसम्म सहमती नदिएपछि मेडिकल कलेज निर्माणको प्रक्रिया पनि अगाडि बढेन् ।

4

वातावरणीय प्रभाव मूल्यांकन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै मेडिकल कलेजको पूर्वाधार निर्माण सुरु भयो । ०७३ सालदेखि नै भौतिक संरचनाको निर्माणले तिव्रता पाएपछि अहिले मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेको छ । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भौतिक प्रगति ८० प्रतिशत पुग्नै लागेको बताए । उनका अनुसार प्रशासनिक भवनको काम ९० प्रतिशत सकिएको छ । ‘साढे पाँच तले अस्पताल भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । अस्पताल भवनको दोस्रोपटक थप गरिएको समय आगामी पुसमा सकिँदै छ,’ उनले भने, ‘चिकित्सक, नर्सिङ र कर्मचारी आवास गृहका आठ वटा भवनको काम पनि भइरहेको छ । कलेज भवनको निर्माण भने सम्पन्न भएको छ ।’

2

उनका अनुसार अहिले थप आवासगृहका भवन, कम्पाण्ड वालका निर्माण भईरहेको छ भने फोहोर व्यवस्थापनका लागि पनि प्रक्रिया अगाडि बढेको छ । साउँदले आगामी चैत महिनाभित्रै भौतिक निर्माण सम्पन्न हुने जानकारी दिए । गेटामा रहेको ५१ दशमलव आठ हेक्टर क्षेत्रमा स्थापना हुने मेडिकल कलेजमा एमविविएस अध्यापनसंगै ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । भौतिक प्रगति उत्साहजनक भए पनि अहिलेसम्म सञ्चालनको ढाँचा भने तय भएको छैन् ।

1

कतिपयले मेडिकल कलेज नै हुनुपर्ने बताएका छन् भने कतिपयले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने अडान लिएका छन्। कार्यकारी निर्देशक साउदले भने, ‘ढाँचाको टुङगो नलागेपनि सुरुमा अस्पताल सञ्चालन गर्न निर्देशन भएपछि अहिले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण छनोट गर्न चिकित्सकको टोलीलाई जिम्मा दिईएको छ । उक्त टोलीले उपकरण छनोट गरेपछि खरिदको प्रक्रिया अगाडी बढ्नेछ। अर्को बर्षको सुरुवातमा अस्पताल सञ्चालन गर्ने तयारी छ ।’

1

शिक्षा मन्त्रालयले एकिकृत प्रतिष्ठान विद्येयक ड्राफ्ट गरी सैद्धान्तिक सहमतीका लागि पठाईएको छ तर मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रतिनिधिसभामा छलफलका लागि भने जान सकेको छैन् । अब हिउदे अधिवेशन सञ्चालन भएपछि उक्त विद्येयक अगाडि बढ्ने छ। 
पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भत्तवहादुर बलायरले गेटा मेडिकल कलेजको सञ्चालनको प्रारुप छिटो तय गर्नुपर्ने बताए । उनले भने, ‘गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिमको एक मात्र उपलब्धि भनेकै गेटा मेडिकल कलेज हो । यस्लाई पनि प्रयोगविहिन बनाउँन हुँदैन् ।’