स्थानीय उत्पादनले बजार पाएन, विस्थापित हुँदै उद्योगी
2020/12/23, 10:35
 
guddu

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजार स्थित केदार गुड उद्योगका सञ्चालक दानसिहं शाहको झण्डै आधा उमेर ढल्किसक्यो । जागिर खाने र विदेश जाने सपना बनाएका उनी झण्डै एक दशक अघिबाट गुड उद्योग सञ्चालन गर्दै आएका छन् । जागिर खोज्दा बेरोगजगार भएका उनी केहि समयता गुड उद्योगबाट मनग्य आम्दानी गरिरहेका छन् ।

‘सानो उमेर बाटै जागिर खाने ठूलो धोको थियो, जागिर सँगै विदेश गएर पैसा कमाउने रहर पनि नभएको हैन ।’ गुड उद्योग सञ्चालक दानसिहं शाहले भने, ‘जागिर खाने धोको भएपनि पूरा हुन सकेन । विदेश जाने रहर रहरमै रह्यो, गुड उद्योगमा लागेपछि सबै सपना बिर्सेको छु ।’  दानसिंहका दाईले वर्षाै अघिबाट गुड उद्योग सञ्चालन गरेको भएपनि पछिल्लो १०÷१२ वर्षयताबाट दानसिंह आफैले हेर्दै आएका छन् । दाईले सञ्चालन गरेको गुड उद्योगको जिम्मेवारी आफ्नो काँधमा आएपछि विदेशको भन्दा राम्रो कमाइ हुन थालेको उनले बताए । 

गाउँघर लगायत छरछिमेकमा गाउँमै रहेर उद्योग चलाएको भनेर कुरा काट्ने हरुपनि अहिले दानसिंहको काम देखेर आहा भन्ने भएका छन् । ‘गाउँबाट जागिरको लागि विदेश गएका युवाहरुले पनि विदेशको भन्दा कमाउन सकेपछि स्वेदेशमा नै राम्रो भन्ने गरेका छन् । यताउताको कुरा सुृन्दा पनि गाउँमै केही नयाँ गरौ भन्ने सोच हुँदै गएपछि दाइको अनुभव वटुल्दै दश वर्ष भन्दा बढी भयो’, सञ्चालक शाहले भने ।

सिजनमा एक पटक चल्ने उद्योगमा शाहले प्रत्यक्ष रुपमा झण्डै १३ जनालाई रोजगारी पनि दिएका छन् । गाउँघरकै स्थानीयमध्ये बेरोजगार भएर बसेका स्थानीयलाई नै रोजगारी दिएको सञ्चालक शाहको भनाई छ । शाहले सात बिगहा आफ्नो जमिनमा उखु लगाएका छन् । उखुबाट चल्ने उनको गुड उद्योगमा कमी भएको उखु अन्य किसानबाट किनेर उद्योग चलाउने गरिन्छ । कार्तिक महिनादेखी फागुन महिनासम्म चल्ने उनको गुड उद्योगबाट उनले सिजनमा चार सय क्वीन्टल बराबरको गुड उत्पादन गर्ने गरेका छन् । 

‘सिजन अनुसार फरक फरक उत्पादन हुन्छ । उत्पादन सँगै मुनाफा पनि सिजन अनुसार नै हुन्छ’, शाहले भने, ‘कुनै सिजनमा तिन चार लाख सम्म फाइदा हुन्छ भने कुनै सिजनमा बराबरमा पनि झर्नु पर्ने हुन्छ ।’ सिजन अनुसार उत्पादन गरिने गुडको बजार त्यति धेरै छैन । सामान्य बजार सुदूरपश्चिम क्षेत्रलाई मानिएपनि सुदूरपश्चिममा पनि बजार पाइन छोडेको शाहले बताए ।  उखु खेतीको लागि राम्रो सम्भावना भएपनि उखुबाट उत्पादित गुडको बजार पर्याप्त नहुँदा उखु खेती पनि संकटमा पर्न गएको छ । जिल्लाको दक्षिणी क्षेत्रको अधिकांश भूभागमा उखु खेती गरिदै आएको छ । उखु खेतीमा विभिन्न अनुदानका कार्यक्रम भएपनि स्थानीय उत्पादनले बजार नपाउँदा गुड उद्योगी भने समस्यामा छन् । 

‘उत्पादन गर्ने समयमा सिजनको झण्डै सात÷आठ लाख रुपैयाँ लागानी गर्नुपर्ने हुन्छ । लगानी गरेपनि उत्पादन पश्चात बजार नपाउँदा कुनै बेला त लगानी उठाउन पनि मुस्किल पर्ने गर्दछ’, उनले भने, ‘भारतीय बजारसँग खुल्ला नाका भएकोले भारतीय कमसल गुड नेपाली बजारमा खुल्ला रुपमा भित्रिने गर्दछ । जसका कारण नेपाली गुडको बजार धरासायी हुन्छ ।’  भारतीय गुड कमसल भएपनि उपभोक्ताले सस्तो रोज्ने गर्दछन् । नेपाली उत्पालन कमसल नहुने र भारतीय भन्दा किलोको १०÷१५ रुपैया महङ्गो भएका कारण नेपाली गुडले पाएका बजार पनि गुम्दै गएको उनको भनाइ छ ।

शाह जस्तै जिल्लाको दोधारा चाँदनी नगरपालिकास्थित नागार्जुन गुड उद्योगका सञ्चालक टेक बहादुर कुवर पनि लामो समयदेखी गुड उद्योग सञ्चालन गर्दै आएका छन् । दानसिंह शाह जस्तै कुवरको पनि समस्या एउटैै छ ।   ‘सानो उमेरबाटै रोजगारी केही पनि भएन, जमिनको क्षेत्रफल ठूलो भएपनि उखुखेतीसँगै गुड उद्योग पनि सञ्चालन गर्न पुगियो’, नागार्जुन गुड उद्योगका सञ्चालक टेकबहादुर भण्डारीले भने, ‘उद्योग खोलेको पनि २०÷२२ वर्ष बढी भयो । पुरानो दिनमा आम्दानी राम्रो भएपनि पछिल्लो दिनमा भने आम्दानी घट्दै गएको छ । नाफा घाटाभन्दा पनि कामलाई हेरेर उद्योग सञ्चालन गर्दै आएको छु ।’ निरन्तर काम चलिराखे सन्तुष्टी मिल्ने भएकोले उद्योगलाई प्रत्येक सिजनमा सञ्चालन गर्दै आएको उनले बताए । 

दोधरा–चाँदनी नगरपालिका महाकाली नदी पारि भएकोले पनि उद्योगमा काम गर्ने कामदार कोही पाइदैन । सामान्य लेवरको कामको लागि पनि भारतीयको भरमा काम गर्नुपर्छ । उद्योग राम्ररी चलाउन सकेमा आम्दानी पनि प्रशस्त हुने सञ्चालक भण्डारीको भनाइ छ । उनले उत्पादन गरेको गुड सुदूरपश्चिम क्षेत्रको पहाडी जिल्लादेखी बुटवलसम्म निर्यात हुने गर्दछ । तर उद्योग सञ्चालन गरेपनि उद्योग सञ्चालन गर्नको लागि आवश्यक वातावरण नभएको उनले गुनासो गरे । 

‘स्थानीय उत्पादनको स्थानीय बजार पनि छ नभएको होइन । हाम्रो त उत्पादन गरेपनि स–सानो कुराको लागि भारतीय बजार धाउनु पर्ने बाध्यता छ’, उनले भने, ‘सामान्य प्याकिङको लागि बजारमा खाली कागज पनि पाइदैन, उद्योग चलाउने मनसाय भएपनि चौतर्फी समस्या हुँदा स्थानीय उद्योग धरासयी हुँदै गएका छन् ।’ सरकारी संयन्त्रबाट उद्योग संरक्षणको लागि आवश्यक वातावरण नमिल्दा आफू विस्थापित हुने अवस्थामा पुगेको सञ्चालक भण्डारीको गुनासो छ ।

विस्थापित हुँदै उद्योगी
कञ्चनपुर जिल्ला उत्पादनको क्षेत्रमा राम्रो मानिन्छ । अन्नबाली तथा विभिन्न नगदेबालीसँगै उखु, केरा लगायत विभिन्न खेती तथा बालीको राम्रो सम्भावनाका बोकेको क्षेत्रमा पछिल्लो समय स्थानीय स्तरमा सञ्चालनमा रहेको स्थानीय उद्योगहरु विस्थापित हुने क्रम बढ्दो छ । यस्तै उखु खेतीबाट सञ्चालित गुड उद्योगको सङ्ख्या जिल्लामा धेरै भएपनि पछिल्लो समयमा आवश्यक बजार तथा आवश्यक संरक्षण नभएका कारण गुड उद्योग विस्थापित हुँदै गएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जिल्लामा १४३ ओटा गुड उद्योत दर्ता भएका छन् । दर्ता भएका ति उद्योग विभिन्न कारणले गर्दा झण्डै आधा भन्दाबढी उद्योग बन्द भएको अवस्था रहेको घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले जनाएको छ । 

‘दक्षिणी क्षेत्रमा अवस्थित गुड उद्योगलाई विस्थापित हुने कारण भनेको चिनी उद्योगको स्थापना हुनु पनि हो । दक्षिणी क्षेत्रमा चिनि उद्योगको स्थापना भएपछि स्थानिय गुड उद्योग विस्थापित हुने क्रममा पुगेका छन् ।’ घरेलु तथा सामा उद्योग कार्यालयका प्रमुख हेमन्तबहादुर सिंहले भने, ‘विस्थापित हुनुमा केही कच्चा पर्दाथको आभाव र केही सरकारी नितिका कारण गुड उद्योग विस्थापित हुने क्रम बढ्दो देखिन्छ, आवश्यक आकडा अनुसार भन्न नसकिएपनि आधा भन्दा बढी गुड उद्योग विस्थापित भइसकेका छन् ।’ कार्यालयका अनुसार भारतीय बजारलाई निरुत्साहित गर्न नसकेकै कारण पनि स्थानीय गुड उद्योग बन्द हुने अवस्था सृजना भएको छ ।