
कैलाली जिल्लाको कैलारी गाउँपालिका-३ को शिवरत्नपुरका बासिन्दा अझै पनि नागरिकले पाउने सेवा सुविधाबाट वञ्चित छन्। उनिहरुले स्थानीय सरकार भएको महसुश समेत गर्न नपाएको गुनासो गरेका हुन्। आफ्नो क्षेत्रलाई सरकारले नै सौतेनी व्यवहार गरेको स्थानीय सुदेसी चौधरीले गुनासो गरे।

मोहना नदी पारि रहेको शिवरत्नपुर, मोहनपुरलगायतका गाउँहरुबाट गाउँपालिकाको केन्द्र आउनै पनि नदीका कारण समस्या भएको स्थानीय दिलकुमारी चौधरीले बताइन्। वर्षातको समयमा नदीमा पुल नहुँदा भारतीय सीमा क्षेत्रमा गस्ती गर्ने सशस्त्र प्रहरीहरु समेत जान छोडेको स्थानीयले गुनासो गरेका छन्।
सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति नहुँदा भारतीय एसएसबि गाउँमा नै पसेर दुव्र्यवहार गर्ने, धम्काउनेलगायत घाँस दाउरा गर्न जाँदा सताउने गरेको स्थानीय खाद्य अधिकार समूहका सचिव कमल प्रसाद चौधरी बताए । मोहना नदीमाथि बन्न थालेको झोलुङ्गे पुल विगत ३ वर्षदेखि नबन्दा झन धेरै सास्ती भएको स्थानीय कृष्णि चौधरीले बताइन्।

अन्य समयमा दैनिक जसो सास्ती भएपनी बिरामी, गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाहरुलाई उपचार तथा बजार आउजाउ गर्न समेत समस्या हुने गरेको उनले बताइन्। पछिल्लो समय सो क्षेत्रमा देखिएका समस्या समाधान र सहजीकरणका लागि फियान नेपालले स्थानीयलाई सहयोग गर्दै आएको फियान नेपालका क्षत्रीय संयोजक सुरेश कुमार गौतमले बताए।
समस्या समाधानका लागि स्थानीय स्तरमाबाट नै दबाब सिर्जना गर्नुका साथै जनप्रतिनिधि मार्फत नै कार्य गर्न जरुरी रहेको उनी बताउँछन्। खाद्य अधिकारसँग सबैजसो विषयहरु जोडिएकाले आम नागरिकको जीवन सुरक्षाका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने र नागरिकको जीवनसँग कसैले खेलवाड गर्न नमिल्ने कुरा फियानका कानून तथा क्षमता विकास अधिकृत मुकुन्द रानाले बताए।