नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी सभापति पूर्व मन्त्री प्रतिनिधि सभा क्षेत्र न. - ४ का सदस्य वीरबहादुर बलायरले पार्टी भित्र रहेका साथीहरू बिच एक आपसमा सद्भाव एकता र मेलमिलाप हुन अति आवश्यक रहेको बताउनु भएको छ । निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ता भेटघाटका क्रममा सभापति बलायरले सो कुरा बताउनु भएको हो । अहिलेको अवस्थामा फरक बिचार राख्नेसंग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एक अर्का प्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र आपसमा द्वन्द्व निम्ताउने कार्य अन्त्य गर्नु पर्ने बताउनु भयो ।
बलायरले आफूले सके जती गरिरहेकाले अहिले नै धैर्यता नगुमाउन काँग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह गर्नु भयो । ‘सकिने कुरामा लागेकै छु । चुनाव लड्दा खेरी लास जलाउन कस्तो समस्या थियो गोदावरीमा, अहिले एक वर्ष पछाडि हेर्नुस् केही त फरक भएको छ नि’ उनले भने ‘काँग्रेसका नेता कार्यकर्ताहरूले अतालिनु हुँदैन । हामीले धैर्यता राखेनौ भने देशको अवस्था झन् नाजुक बन्छ ।’
नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले आफूले आफ्नो निर्वाचन क्षेत्रलाई विगतका भन्दा केही फरक गरेर देखाउने बताउनु भएको छ । मङ्गलवार निर्वाचन क्षेत्रका बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ताहरूसँग बोल्दै उनले विगतका भन्दा केही राम्रो र प्रत्यक्ष जनताले देख्ने किसिमको विकास आफ्नो निर्वाचन क्षेत्रमा गर्ने बताउनु भएको हो । ‘काम गरौला, गर्ने हु, चुप लाग्ने हैन, त्यसकै लागि तपाईँहरूले पठाउनुभएको हो’ कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका बलायरले भने ‘लेखराज दाईका पालामा जस्तो थियो यो क्षेत्र त्यो भन्दा परिवर्तन गरेर देखाउने छु, केही परिवर्तन भइरहेको छ ।’
उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न केही असहज भइरहेको बताउनु भयो । ‘अहिले देशको आर्थिक अवस्था ठिक नभएकाले काम गर्न गाह्रो छ, सानो रकम निकाल्न पनि दाँतबाट पसिना निकाल्नुपर्ने अवस्था आएको छ’ बलायरले भन्नू भयो - ‘उनका (लेखराज भट्ट) पालाको जस्तो देशको ढुकुटी भएको भए त काम गर्न सहज हुन्थ्यो, धेरै काम गरिन्थ्यो ।’ त्यसका बाबजुद पनि आफूले आफ्नो निर्वाचन क्षेत्रका लागि विभिन्न कामहरू गरिरहेको बताउनु भयो ।
उनले स्याउलेमा कृषिको अनुसन्धान केन्द्रका लागि लागिरहेको बताउनु भयो । त्यसका साथै सहजपुरबाट निगाली सम्म ५५ करोडको ठेक्का परिसकेको बताउनु भयो। त्यति मात्रै नभई गोदावरी नगरपालिकामा एडिबीको ७ वटा सडकका लागि भरखरै ४० करोड रुपैयाँ निर्णय गरेर आएको समेत बलायरले जानकारी गराउनु भएको थियो । उहाँले कान्द्रा नदीलाई सदाका लागि अटल गर्नका लागि विश्व बैङ्क सँग कुरा गरिसकेको र यसै वर्षदेखी रानी जमराले तटबन्धको काम गर्न लागिरहेको बताउनु भयो ।