लकडाउन खुलेसँगै सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड पुग्ने पर्यटकको संख्या दिनदिनै बढ्न थालेको छ । साउन भदौमा फुल्ने भुइँ फूल तथा खप्तडका फराकिला र हरिया पाटनको सुन्दर दृश्य हेर्न यो सिजनमा अरू बेलाभन्दा बढी मानिस यहाँ पुग्ने गर्छन् ।
छिनछिनमा बदलिने मौसम, घाम र कुहिरोको लुकामारी अनि रंगीचंगी फूलको किनारा बनाएर बगेका सुन्दर खोला, ताल र मनमोहक झरनाहरू हेरेर दिनभर रमाउने पर्यटकहरूको मनमा राति राम्रो बास नपाइने हो कि भन्ने चिन्ता भने सधैं खेलिरहेको हुन्छ । ‘यहाँका सुन्दर दृश्यहरू हेर्दा ज्युँदै स्वर्ग पुगे जस्तो अनुभव हुने रहेछ,’ काठमाडौंबाट खप्तड घुम्न आएका सन्तोष मुडभरीले भने, ‘जता हेर्यो, त्यतै आँखा टाँसिने यति राम्रो ठाउँमा बासको सुविधा भने राम्रो रहेनछ । साँझ राम्रो ठाउँमा सुत्न पाइने हो कि होइन भन्ने चिन्ताले मन खोलेर रमाउन सकिएन ।’ पाँच जनाको समूहमा घुम्न आएका उनले सुत्ने ठाउँको अभावमा एउटै कोठामा १०/१५ जनासम्म कोचिएर रात कटाउनुपरेको बताए ।
मुडभरीले जस्तै मानिसको चाप भएको बेला खप्तड पुग्ने जो सुकैले पनि खेप्नुपर्ने सास्ती भनेकै बासको हो । ‘सार्वजनिक गेस्टहाउस एउटा मात्रै सञ्चालनमा छ । घर त अरू पनि थुप्रै छन् तर कोही निर्माण सम्पन्न नहुँदै भत्किन लागेका छन । कुनै घर निर्माण भएपछि कहिले पनि प्रयोगमा नआएर भत्किँदै छन्,’ खप्तड व्यारेक नजिक होटल सञ्चालन गरिरहेका बाजुराका लोक रावल भन्छन्, ‘पर्यटकहरू धेरै आएको बेला एकै कोठामा कोचाकोच गरेर भए पनि सुताउने गरेका छौं ।’ उनले दैनिक २०/३० जनालाई व्यवस्थापन गर्न समस्या नभए पनि त्योभन्दा बढी संख्यामा मानिस आएमा गाह्रो हुने गरेको बताए । धेरै संख्यामा एकै पटक पर्यटकहरू आउँदा राष्ट्रिय निकुञ्जको गेस्टहाउस र कर्मचारीहरू बस्ने कोठामा समेत व्यवस्थापन गर्ने गरेको रावलले बताए ।
रावलले भने जस्तै खप्तड भरी थुप्रै घरहरू निर्माण भएका छन । ब्यारेक क्षेत्रमा चार, त्रिवेणी क्षेत्रमा तीन, केदारढुंगामा तीन वटा पक्की भवन छन् । बाबा आश्रम जाने बाटोमा दुई, घोडा दाउना पाटनमा एक, खापर दहमा तीन र सहस्रलिंगमा एक पक्की भवन बनेका छन् । डोटी भएर आउने बाटो बीचपानीमा दुईवटा पक्की भवन, अछामबाट खप्तड छिर्ने बाटोमा पर्ने गणेशस्थान पाटनमा एक र बझाङको बाटोमा पर्ने लोखाडामा एक गरी खप्तड क्षेत्रमा मात्र मानिसहरू बस्न मिल्ने १८ भवन निर्माण भएका छन । खप्तडको घोडा दाउना पाटन, त्रिवेणी, विचपानी, खापरदह, खप्तड बाबा कुटी नागढुंगा, सहस्रलिंगलगायत ठाउँमा दर्जन बढी फलामे ट्रस्टहरू निर्माण गरिएका छन् । यी सबै भवन प्रयोगमा आउने हो भने खप्तडमा दैनिक एक/डेढ हजारभन्दा बढी मानिसलाई बास बस्न पुग्छ । तर, यहाँ निर्माण गरिएका संरचनाको हालत भने उदेकलाग्दो छ । जस्तापाता प्रयोग गरेर बनाइएका धेरैजसो भवनको छानो हावाले उडाइसकेको छ भने कतिपय भवनको छानो हिउँको भार थाम्न नसकेर धुरी नै भाँचिएका छन् ।
कतिपय भवन भत्किएर खण्डहर मात्रै बाँकी छन् । सद्दे अवस्थामा भएका भवनका कोठाहरू प्नि छाडा छोडिएका बस्तुभाउ र घोडा खच्चडको मलमुत्रले भरिएका छन् । ‘एकातिर यत्रा भवनहरू प्रयोग नभएर अलपत्र परेका छन् । अर्कोतिर घुम्न आउनेहरूले राम्रो बास नपाएर सास्ती खेप्नुपरिरहेको छ,’ खप्तड घुम्न आएका बैतडीका नरेन्द्र विष्टले भने, ‘प्रयोग नै नगर्ने भए भवन किन बनाएको होला ? यत्रो लगानी गरेर संरचना बनाएको के अर्थ भयो ?’ उनले निकुञ्ज क्षेत्रमा रहेका संरचनाहरूको व्यवस्थापन दयालाग्दो भएको बताए ।
‘कतिपय भवनहरू हामीलाई हस्तान्तरण नगरी छोडिएका छन्, कतिपय अपायक ठाउँमा छन्,’ खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी सुनिल बोहराले भने, ‘बनाउने र छोड्ने काम हुन्छ, नियमित मर्मतसम्भारमा कसैले ध्यान दिंदैन । संरचना अलपत्र छन् ।’ बनाउने निकायले निकुञ्जलाई हस्तान्तरण गरेपछि मात्र त्यसको निकुञ्जले हेरचाह गर्ने गरेको दाबी निकुञ्जका कर्मचारीहरूले गरे पनि निकुञ्जले नै बनाएका अधिकांश भवनको हालत भने अरूभन्दा फरक छैन । प्रयोग मै नआएर जीर्ण बन्दै गरेका खप्तड क्षेत्रका यी भवनहरू निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय, नेपाल पर्यटन बोर्ड, खप्तड क्षेत्र विकास समितिले करोडौं लगानी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार, तत्कालीन जिल्ला विकास समिति बझाङ, अछाम, डोटी र बाजुरा तथा खप्तडसँग जोडिएका चारै जिल्लाका स्थानीय तहको गरी २०६६ यताका १० वर्षमा खप्तडमा भवन बनाउन मात्रै ३० करोड बढी खर्च भएको विभिन्न अभिलेखमा भेटिन्छ । निकुञ्जको ब्यारेक क्षेत्र नजिक पाँच करोडको लगानीमा बनेको गेस्टहाउस ठेकेदारले हस्तान्तरण नगर्दै एक दिन पनि प्रयोग नभएर भत्किने अवस्थामा पुगेको छ । त्रिवेणी क्षेत्रमा बन्दै गरेको भवन आधा मात्रै निर्माण गरेर पाँच वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएको खप्तडबारे जानकार बाजुराका जगत रावलले बताए ।