
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रमको आयोजना गरिएको छ । देशका अन्य प्रदेशहरुमा हुदैं आएको सिनेमा संवाद कार्यक्रम सुदुरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्र मार्फत स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिईएको छ । विभिन्न बिषयवस्तुमा गरिएको संवाद कार्यक्रममा सुदुरपश्चिम प्रदेश चलचित्रको कथावस्तु र छायाँकनका लागि भर्जिन क्षेत्र भएकोले अब यहाँका कला संस्कृतिहरुलाई बिषयवस्तु बनाएर सिनेमा निर्माण हुनुपर्ने, यहाँका पर्यटकीय स्थलहरुलाई सिनेमा मार्फत प्रसार प्रसार गर्नुपर्ने लगायतका बिषयमा जोड दिईएको छ ।

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे गहिरो छलफल गरिएको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदुरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल गरिएको छ । सिनेमा संवाद कार्यक्रममा बहस र संवादसँगै सुदुरपश्चिमका कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
सिनेमा संवाद कार्यक्रम गाउँ केन्द्रित बनाउनुपर्छः अध्यक्ष ओझा
सिनेमा संवाद कार्यक्रमको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले सिनेमा संवाद कार्यक्रमलाई अब गाउँ केन्द्रित बनाउनुपर्ने बताउनुभयो । सिनेमा चाहिने कथा, बिषयवस्तु र छायाकनका लागि ग्रामीण भेगहरु निकै सुन्दर भएकोले यसलाई गाउँ केन्द्रित बनाउनुपर्नेमा उनको जोड थियो । आफु सिनेमा र कलाप्रेमी भएकोले विगतका बर्षहरुमा सिनेमा निर्माण लगायतका कामहरुमा सहयोग गर्दै आएकोले यस्ता कार्यक्रमको आयोजनामा सहयोग गर्न तयार रहेको बताए । उनले आगामी दिनहरुमा सिनेमा संवाद कार्यक्रम गर्नका लागि जोरायल गाउँपालिकामा कलाकार सहित आएर कार्यक्रम गर्नका लागि निम्तो समेत दिए । अध्यक्ष ओझाको गाउँपालिकामा अभिनेता, निर्माता तथा निर्देशक विराज भट्टको साङ्लो चलचित्र छायाकन गरिएको थियो । चलचित्रमा जोरायल क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेको भन्दै सो चलचित्रलाई १० लाख रुपैयाँ समेत गाउँपालिकाले दिएको थियो ।

विभिन्न बिषय केन्द्रित छलफल र संवाद
सिनेमा संवाद कार्यक्रममा विभिन्न बिषयमा बहस र संवाद गरिएको छ । पहिलो सेसनको रुपमा नेपाली सिनेमा नवीन पुस्ता नवीन दृष्टिकोण बिषयमा छलफल गरिएको छ । उद्घोषिका निलम चन्दले सहजीकरण गरेको कार्यक्रममा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ताको रुपमा रहेका थिए । यो सेसनमा पछिल्लो समय नेपाली चलचित्रमा आईरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिदो प्रविधिले पारिरहेको प्रभावको बारेमा संवाद गरिएको थियो ।
दोस्रो सेसनमा सिनेमामा सुदुरपश्चिम ईतिहास र संस्कृति बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवाद कार्यक्रममा वक्ताको रुपमा सुदुरपश्चिम क्षेत्रको कला संस्कृतिका जानकार साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का रहेका थिए । यो संवादमा चलचित्रमा उठान गर्न सकिने सुदुरपश्चिमका बिषयवस्तु र कथाहरुको बारेमा छलफल गरिएको थियो । यो संवाद कार्यक्रममा चलचित्र निर्देशक नवल नेपालले सुदुरपश्चिमको मौलिक बिषयमा नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।
कार्यक्रमको तेस्रो सेसनमा डोटेली भाषा सिनेमा र संगीतको बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवादमा गीतकार हर्क साउँद, बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र बरिष्ठ पत्रकार तथा सुदुरपश्चिममा पहिलो चलचित्र निर्माण गरेका उमिद वागचन वक्ताको रुपमा रहेका थिए । सो बहसमा चलचित्रमा प्रयोग भईरहेका देउडा गीत संगीत र त्यसको मौलिकताको बिषयमा छलफल गरिएको थियो ।
सिनेमा संवादको चौथो सेसनका रुपमा सुदुरपश्चिमको पर्यटन प्रबद्र्धनमा सिनेमा बिषयमा छलफल गरिएको थियो । पत्रकार टेकेन्द्र देउवाले सहजीकरण गरेको कार्यक्रममा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल र थारु चलचित्र क्षेत्रका सर्वाधिक सफल नायक प्रेम चौधरी वक्ताको रुपमा रहेका थिए । यो बिषयमा सिनेमाले सुदुरपश्चिमको पर्यटन प्रबद्र्धनमा योगदान पुराईरहेको बिषयमा बहस गरिएको छ ।