‘धनगढी सेटकी चेली सटपाइन्ट कसेकी । घरवार भएकी हौ कि माइतमै बसेकी’
(धनगढीका धनी परिवारकी छोरी सर्ट पाइन्टको पहिरनमा देखियौ, विवाह भएकी हौ कि माइतमै बसिरहेकी छ्यौ)
सुदूरपश्चिम प्रदेशको मौलिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्व मनाउने क्रममा महिला—पुरुषको छुट्टाछुट्टै समूहद्वारा प्रस्तुत देउडा गीतको बोलमा सवाल–जवाफ गरेर खेल खेल्दा सिर्जना हुने रोमाञ्चक माहोललाई यो वर्ष कोरोनाको कहरले रोकिदिएको छ ।
कोरोना संक्रमण बढ्ने त्रासले यो वर्षको गौरा पर्वमा देउडा खेल खेलेर एक–आपसमा घोचपेच र तिखो व्यग्य गर्दै रमाउन पाउने अवसर नपाउँदा खेलका शौकीन मात्र होइन, खेल हेरेर मच्चिमच्ची साथ दिने सर्वसाधारण दर्शकको मन समेत निराश भएको छ । सामाजिक विकृति, विसंगति र कुशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यग्य गर्दै सामाजलाई सही बाटोमा डोर्याउन यस्ता गीतले मद्दत पुर्याउने गरेको जानकारहरु बताउँछन् ।
कोरोनाको कारण कहिल्यै अनुभूति नगरिएको जस्तो एक खालको सन्नाटा छाइरहँदा गौराको रौनकता पनि हराएको स्थानीयवासी डिल्लीराज अवस्थीले बताए । “यतिवेला सुदूरपश्चिम प्रदेशका गाउँबस्तीहरु देउडा, चैत, धमारीजस्ता गीतको रौनकले छपक्क छोपिएका हुन्थे,” उनले भने, “कोरोनाले सबैको रहर र उत्साहलाई मेटाइदिएको छ ।”
यो पर्वमा विशेषगरी देउडाका अलावा देवीदेवताका गाथा र महिमा दर्शाउने खालका विभिन्न गीत गाउने गरिएको गौरा गीतका गितेरु ९गीतकार० लेखराज ओझाले बताए । “कोरोना संक्रमणको डरले यो वर्ष देउडा खेल्ने वातावरण नहुँदा मन खल्लो भएको छ,” उनले भने, “हाम्रा मौलिक परम्परा, धर्म र संस्कृतिमा समेत कोरोनाको प्रतिकूल प्रभाव परेको छ ।”
गौरा पर्वका बेला खेलिने चैत, धमारी, फागलगायत खेलले इष्टदेव अर्थात कूल देउताको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसंगतिविरुद्ध तिखो व्यंग्य गर्ने, आफ्नो गाउँठाउँका प्राकृतिक र धार्मिक स्थलको महत्वलाई पनि उजागर गर्ने गरेको उनको भनाइ छ ।
कोरोनाको कहरका बीच सुदूरपश्चिम प्रदेशका गाउँ वस्तीमा मंगलवार सप्तमी तिथीमा धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गरेका छन् । पूजाका अवसरमा सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र ९दुवधागो० पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राख्ने गरिन्छ ।
आज अष्टमीका दिन रंगीचंगी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिंगारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।
विगतमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहेपनि कोरोना भाइरस संक्र्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका कैलाली र कञ्चनपुर लगायतका जिल्लामा गरिएको निषेधाज्ञाका कारण महिलाले घर परिवारका सदस्यहरुसँग मिलेर गौरा भित्राएका छन् । गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आंगनमा ल्याइ श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर महिला नाच्ने गर्दछन् ।
अठेवालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारी बताउँछन् । अठेवाली गीत गाउँदा महिलाहरुले एकले अर्काको कान्छी औंला अठ्याएर समातेर गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।
प्रदेश सरकारले गौरा पर्वको मुख्य दिन आज सार्वजनिक विदा दिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै गौरा पर्वमा भीडभाड नगरी घरपरिवारका सदस्य बीच सुरक्षाका मापदण्ड अपनाएर मानाउन आग्रह गरेको छ । भीडभाड गर्न नपाइने भएपछि कतिपय ठाउँमा गौरा पर्वमा पुजारीबिना गौरादेवी र महेश्वरको पूजा गर्नुपरेको श्रद्धालु महिला बताउँछन् ।
भदौ शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेपछि यो पर्वको शुरुवात भएको मानिन्छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिंगारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखी भगवान महेश्वरको आह्वान गरी बिरुडा राख्ने कार्य गरिन्छ ।
पूजाको काम सकिएपछि बिरुडा लाई छरछिमेकमा गौराको प्रसादको रुपमा बाँड्ने प्रचलन छ । यसलाई पकाएर खाने गर्दा पेट सम्बन्धी रोग निर्मूल हुने जनविश्वास छ । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको बताइएको छ । पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् ।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथी हेरी विसर्जन गरिने यो पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसेर गौरा महेश्वरको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, ईष्ट र कूलदेवता खुशी हुन्छन् भन्ने जन–विश्वास छ । पारिवारिक मिलन, सामाजिक सद्भाव र एकअर्कासँग भेटभाट गर्ने पर्वको रुपमा समेत गौरा पर्वलाई लिइने गरिन्छ । सिद्धराज भट्ट/रासस