प्रयोगशाला नै बन्द हुने डरले प्रयोगशालाकर्मीले गर्दैनन आफ्नै पीसीआर परिक्षण
2020/08/31, 12:29
 
corona

सामान्य ह्याछयु लाग्दा वा घाटी खसखस हुँदा पहूँच हुने व्यक्तिले पीसीआर परीक्षण गर्नु समान्य भईसक्यो । अझ उसैले केही समय रिपोर्ट आउन ढिलो भयो भने प्रयोगशालामा खटिएका कर्मचारीलाई फोन गर्न भ्याईसकेको हुन्छ । ढुक्क हुने रहरले महिना दिनमा पीसीआर परीक्षण गरेर सामाजिक सञ्जालमा प्रदर्शन गर्नेहरुको त्यही रहरका कारण प्रयोगशालाकर्मीहरु कति दवाव झेल्छन । त्यो भने कसैले बुझ्दैनन । 

तर धेरैले थाह नहुन सक्छ, प्रयोगशालामा खटिएका कर्मचारीहरुले पीसीआर परीक्षण गरेका छैनन । यो सुन्दा भने धेरैलाई आश्चर्य लाग्न सक्छ । उनीहरुले शुरुमा एक पटक परीक्षण गरेका थिए ।  चैत १८ गतेदेखि कोरोना स्वावसंगै काम गरिरहेका सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा खटिएका प्रयोगशालाकर्मीहरुले त्यसयता पीसीआर परीक्षण नै गरेका छैनन ।  जवकी कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुले  सात दिनको सेवापछि १४ दिनको आराम पाउछन् । र काममा फर्किने बेला कोरोना परीक्षण पनि गर्छन । यो प्रकृया चलिरहेको छ ।

जनस्वास्थ्यको मापदण्ड अनुसार हुनु पर्ने पनि यही हो । संक्रमितको उपचारमा खटिनेहरु उच्च जोखिममा हुने भएकोले यस्तो व्यवस्था गरिएको हो  । तर प्रयोगशालाकर्मीका लागि आराम गर्ने सुविधा छदै छैन । ‘हामीले पीसीआर परीक्षण गरेका छैनौ ।’ सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ईञ्चार्ज रमेश शाहीले भने– ‘अव भने गर्दैनौ ।’ 

किन त ? प्रश्नमा शाहीले भने–‘परीक्षणका क्रममा प्रयोगशालामा काम गर्ने एक जनामा संक्रमित पाईए प्रयोगशाला नै बन्द हुन्छ । प्रयोगशाला बन्द भयो भने त यहाँ कसैको पीसीआर परीक्षण हुने अवस्था रहदैन ।’ उनले कोरोना देखिने डरले पीसीआर परीक्षण नगरेको नभई प्रयोगशाला बन्द हुने डरले पीसीआर परीक्षण नगरेको बताए । ‘हामीले चैत १८ गतेदेखि बिदा लिएका छैनौ । कोही अहिलेसम्म विदामा पनि बसेका  छैनौ । र हाम्रो ड्युटी १० देखि ५ बजेसम्म भन्ने हुदैन । बिहान ६ बजेदेखि राति २ बजेसम्म प्रयोगशालामा काम गरेका छौ ।’ प्रयोगशाला ईञ्चार्ज शाहीले भने–‘यतिका समयसम्म २४ सै घण्टा काम गर्दा प्रयोगशालामा काम गर्ने कसैले पनि गुनासो गरेका छैनन । म उहाँहरु सबैको यो महानता प्रति नतमस्तक छु ।’ 

स्वावमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण हुने उच्च संम्भावना हुन्छ । नेपालकै दाङ सहित बिभिन्न स्थानका प्रयोगशालामा काम गर्नेहरुमा कोरोना संक्रमण पाईएको थियो ।  र यो क्रम रोकिएको छैन । ‘हामीले परीक्षण नगरेकोले संक्रमण नदेखिएको हो ।’ शाही भन्छन– ‘हामी मध्ये कतिपय संक्रमित भईसकेका हुनुपर्छ । तर हाम्रो चिन्ता त्यसको होईन, चिन्ता त प्रयोगशाला बन्द नहोस भन्ने हो ।’

प्रयोगशालामा खटिएका कर्मचारीबाट परिवार  तथा सम्पर्कमा रहेका व्यक्तिहरु  पनि जोखिममा पर्ने भएकोले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा खटिएका कर्मचारीहरु घर नगएको महिनौ भयौ । प्रयोगशालाको कामबाट मुस्लिकले बचेको समयमा उनीहरु सबै होटलमा  बस्छन् । म पनि शुरुवाती दिनमा होटलमै बसे, शाही भन्छन्, अहिले भने काम सकेर घरमै जान्छु । तर अरु कुनै पनि कर्मचारी घर जादैनन ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १० जना कार्यरत छन्  । डडेल्धुरा अस्पतालको प्रयोगशालाका ईञ्चार्ज ईश्वरी भुसाल असारको दोस्रो साता  प्रयोगशाला स्थापना भएयता राम्रो सँग निदाउन पनि पाएका छैनन । र  उनीसंग प्रयोगशालामा खटिनेहरुको अवस्था पनि उस्तै छ । चार जनाले  प्रयोगशाला धानेका छन् । भुषालले पनि प्रयोगशालामा खटिएका कर्मचारीले कोरोना परीक्षण नगरेको सुनाए । किन त ? पश्चिम टुडेको यो प्रश्नमा उनको जवाफ पनि शाहीको भन्दा फरक थिएन,चार जनाले रात दिन खट्दा पनि स्वाव परीक्षणको प्रेसर घटेको छैन । अझै एक जना प्रयोगशालाकर्मी नै संक्रमित भए त प्रयोगशाला  नै बन्द हुनेछ । प्रयोगशाला बन्द भए सुदूर पश्चिमको पहाडको अवस्था के होला ? त्यही सोचेर पीसीआर परीक्षण नै गरेका छैनौ ।

ह्युमानिटी फाउण्डेस नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरा अस्पतालमा स्थापना भएको प्रयोगशाला सुदूर पश्चिमका सात पहाडी जिल्लाको पहिलो र ठूलो प्रयोगशाला हो । जसले सात वटा पहाडी जिल्लाका जनताको पीसीआर परीक्षण मात्र गरिरहेका छैन । आवश्यकता पर्दा कैलाली र कंचनपुरमा संकलित स्वावको पनि परिक्षण गर्दै आएको छ । एक साता धनगढीबाट एक हजार आठ सय स्वाव परीक्षणका लागि डडेल्धुरा पठाइएको थियो । प्रयोगशाला ईञ्चार्ज भुषाले हालसम्म १० हजार स्वाव परीक्षण गरिएको बताए । 

प्रयोगशालाकर्मीको अभावका बाबजुद पनि सुदूरपश्चिममा स्थापना गरिएका प्रयोगशालाले उत्कृष्ट नतिजा दिदै आएका छन् । कर्मचारीको अभावमा सिफ्टमा समेत काम गर्न पाएका छैनौ, भुषालले भने, हामी त २४ सै घण्टा प्रयोगशाल भित्रै हुन्छौ । स्वाव कम भएको राति मुस्किलले निदाउन पाउँछौ ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला ईञ्चार्ज शाहीले सामान्य अवस्थामा पीसीआर परीक्षणका लागि दवाव नदिन र पीसीआर परीक्षण गरेको भन्दै सामाजिक सञ्जालमा प्रदर्शन नगर्न आग्रह गरे । एउटा स्वाव परीक्षण गर्न हामीले कति मिहिनेत गर्छौ । कहिले काही एउटै स्वाव पनि पटक पटक परीक्षण  गर्नुपर्ने अवस्था आउँछ ।

शाहीले भने, सरकारले सित्तैमा पीसीआर परीक्षण गरिदिन्छ भन्दैमा पीसीआर परिक्षण गर्न दवाव दिनु राम्रो होईन । त्यसले सरकारलाई हुने व्ययभार र कर्मचारीलाई पार्ने असरका बारेमा बुझिदिन आग्रह  गर्दछौ । उनले सुदूर पश्चिममा पीसीआर मेसिन स्थापना गर्ने होडबाजी भईरहेपनि आर्थिक खर्च र दक्षजनशक्तिको अभावमा त्यसलाई सञ्चालनमा ल्याउनु अत्यन्त कठिन भएको तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।