डम्मर गिरी- एकातर्फ कोरोनाको कहर, अर्कोतर्फ तराईको उखरमाउलो गर्मी । त्यसैमा प्रशासनको लकडाउन र निषेधाज्ञाका पर्खालहरु। सडकमा प्रहरी र छाडा गाईगोरु मात्र देखिन्थे । विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा भारतबाट स्वदेश फर्किने नेपालीहरु अलपत्र परेको सामाचार आइरहेका थिए । धनगढी स्थित रोयल कोलाब्राटिभ्सका अध्यक्ष गजेन्द्र शाही ‘गज्जु’ को फोनमा पनि एक दिन त्यस्तै खबर आयो । भारतमा मजदुरी गर्न गएका आफन्तले पीडा पोखे, ‘एक छाक नखाएरै कठिन यात्रा गर्दै गौरीफन्टा नाका आइपुगे ।’
गौरीफन्टा नाकामा उनका आफन्त मात्र थिएनन । सयौं नेपालीहरु सीमा प्रवेश गरिरहेका थिए । भेटिएकाहरुले मात्र होइन, फोनबाटै अरु आफन्तहरुले पनि अध्यक्ष शाहीलाई ७, ८ दिनसम्म अन्न पनि खान नपाएको ब्यथा सुनाउँथे । यस्त दुःख पीडाका कुरा सुनेपछि शाही आफै गौरीफन्टा नाका पुगेका थिए । टन्टलापुर घाममा वृद्धवृदा, काखे दुधे बालक बोकेका दृश्यहरुले उनको मन भक्कानियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाकामा रहेका नेपालीलाई धनगढी स्थित भन्सार रोड नजिकै नवदुर्गा माविमा राख्ने ब्यवस्था मिलाएको थियो । ‘त्यहाँ पनि भोकै बस्नु परेको दृश्य देखे। यो काम एक्लैले नसकिने भएकाले सबैसँग हातेमालो गरी अगाडी बढ्नुपर्छ भन्ने सोचे,’ शाहीले भने । त्यसपछि अभियान सुरु भयो । रोयल कोलाबोरेटिभ्सका युवाहरु उद्धारका लागि सीमामा खटिए ।
त्यही बेला धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली पनि सहयोगी बन्यो । दुबैको पहलमा सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई ‘निशुल्क’ खाना खुवाउने अभियान चलाएको अध्यक्ष शाहीको भनाई छ । ‘सुरुमा मम्मीले यस्तो कार्यमा नलाग भनेर गाली गर्नुहुन्थ्योँ,’ उनले भने,–‘फोनमा कुरा गर्दा धेरै रुनुहुन्थ्यो । घर आईजा भनेर दाजु–भाउजु पनि भन्नुहुन्थ्योँ ।’ कोरोनाको समाचारले त्रसित भएका थिए उनका परिवार। ‘मैले घरका सदस्यहरुलाई सम्झाउने प्रयास गरे, त्यस्तो केही हुँदैन, आफ्नो ख्याल गर्न सक्छु, स्वस्थ छु भने,’ शाहीले सुनाए । उनका परिवारका सदस्य यो काम देखेर अहिले खुसी छन । परिवारलाई अरु कार्यले खुसी पार्न नसके पनि यो कामले भने खुसी पारेको उनी बताउँछन् ।
‘म एक्लैले गरेर यो कार्य सफल हुने थिएन,’ उनले भने, ‘साथीहरुको साथले नै यो सामाजिक कार्य अगाडी बढेको हो ।’ अध्यक्ष शाहीलाई देबेन्द्र जोशी, दिनेश शाह ,इन्द्र बिनाडी, रचित शाहले साथ दिएका छन् । त्यतिबेला दैनिक ३,४ हजार मान्छेलाई विहानदेखि बेलुकासम्म खाना बनाउनका लागि ५ हजारमा कुक खोजेको उनले बताए ।
‘कोरोनाको बेला सवैलाई डर हुन्छ भनेर त्यस ठाउँमा अरु कोही जादैन थिए,’ उनले भने, ‘खाना बनेपछि खाना पस्कने र बाँड्ने काममा हामी आफै खटिन्थ्यौँ, विहान ८ बजेदेखि नाकामै पुग्थ्यौँ, १० बजेसम्म खाना तयार पारि सक्थ्यौँ ।’ दिनभर नाकामा भएपनि साँझ उनीहरु आफ्नो क्वारेन्टिनमा जाने गर्थे । सरकारले गर्न नसकेको कार्य ती युवाहरुले गरेका थिए । नेपाल–भारत सीमा दशगजा क्षेत्र डोकेबजारमा निशुल्क खाना घरनै स्थापना गरेर जेठ ९ गतेबाट निःशुल्क खाना पानी तथा आकस्मिक फोन सेवा अभियान चलाउँदा विभिन्न सामाजिक संघ संस्थाहरु र व्यक्तिहरुले सहयोग गरेका थिए ।
३० दिनको अवधिमा ५७ हजार खानाका प्याकेट वितरण गरेका थिए युवाहरुले । अभियानमा २० लाख बराबरको खाद्यान्न सामग्री र २ लाख ७० हजार रुपैया बराबरको पानी वितरण गरिएको थियो । रोयल कोलाबोरेटिभ्सले लकडाउनका बेला व्लड बैंकमा रगत संकलन नहुँदा समस्यामा परेकाहरुका लागि धनगढी उपमहानगरपालिका विभिन्न ठाउँमा ९ दिनसम्म घुम्ती रक्तदान कार्यक्रम समेत गरेको थियो ।
रोयल कोलाब्रोटिभ्सले निःशुल्क खाना अभियान अहिले काठमाडौं केन्द्रित गरेको छ । सोमवारदेखि काठमाडौंको महाराजगन्ज स्थित शिक्षण अस्पताल, कान्ति बाल अस्पताल परिसरमा निःशुल्क खाना अभियान सञ्चालन गरेको हो । उनले विभिन्न जिल्लाबाट काठमाडौंका ती अस्पतालमा रेफर गरेका विरामी र उनीहरुका कुरुवालाई निशुल्क खानाको व्यवस्था गरेको र कहिलेसम्म अभियान जारी रहने भन्ने कुरा अहिल्यै भन्न नसकिने जानकारी दिए ।’ सोमवार मात्र ३, ४ सय जनालाई खाना खुवाएको उनको भनाई छ ।
सामाजिक कार्यका लागि रोयल कोलाब्रोटिभ्स
रोयल कोलाब्राटिभ्स युवाहरूको समूह हो । यो स्थापना भएको ३ वर्ष पुगेको छ । रोयलले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । मिस फारवेष्ट समेतको आयोजना गरेको छ । त्यसमा सहभागि भएकाहरुलाई समेत सामाजिक कार्यमा अग्रसर गराउने गरेको छ । निःशुल्क कपडा घर भनेर पनि खोलेको छ । जुन हसनपुरमा छ, मानिसहरूले कपडा दिन्छन् । ती कपडा अति विपन्न मानिसलाई निःशुल्क बाँडने गरिन्छ । समाजमा केही सहयोग पुगोस् भन्ने लक्ष्यका साथ युवाहरु यो कार्यमा लागेका हुन् । साभारः महेन्द्रनगर पोष्ट