सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ । सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको ठेक्का पाउन मिलेमतो गरिसकेका ‘भाग्यमानी’ तिनै ठेकेदार हुन् जसले पुल, सडक र सिँचाइको परियोजना अलपत्र पारेका छन् ।
इनरुवा–काँकडभिट्टा रेलमार्गमा एक अर्ब ४१ करोड ६ लाखको ठेक्का पाउने मिलेमतो गरिसकेका लुम्बिनी कन्स्ट्रक्सन (बिल्डर्स) का सञ्चालक विष्णु शर्माले पनि धेरै आयोजना अलपत्र पारेका छन् । तिनैमध्येको एक हो, कञ्चनपुरको देखतभुली–पर्सिया सडक खण्डमा निर्माणाधीन दोदा नदीको पुल । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शर्माले ०७२ पुसमा ज्वाइन्ट भेन्चरमा २४ करोड ५२ लाख ६१ हजारमा ठेक्का लिएका थिए । उनीसँग डडेल्धुराको परशुराम नगरपालिका मेयर भीम साउँदको निर्माण कम्पनीले साझेदारी गरिरहेको छ । तर, साढे चार वर्ष बित्दा पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । अहिलेसम्म चार वटा पिलर मात्रै निर्माण गरिएका छन् । प्राविधिक समस्या देखाएर निर्माण कम्पनीले दुई वर्षदेखि पुलको काम नै गरेको छैन ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर लक्षणदत्त जोशीले चार पिलर निर्माण गरिए पनि बाँकी दुई पिलरमा समस्या देखिएको बताए । ‘पिलर निर्माण गर्दा जमिनमुनि पानीको समस्या देखियो,’ उनले भने, ‘सोयल टेस्टका लागि विभागमा पठाएका छौँ ।’ विभागले ती ठाउँमा पिलर बनाउन नमिल्ने राय दिए कि त पुल बांगो बनाउनुपर्ने, कि पुनः प्राविधिक अध्ययन गरेर शून्यबाट सुरु गर्नुपर्ने जानकारहरू बताउँछन् ।
उनका अनुसार ०७५ पुसमा म्याद सकिएपछि ठेक्काको समयावधि एक वर्ष थप गरिएको थियो । पूर्ण डिजाइन विना नै सडक डिभिजनले हचुवाका भरमा ठेक्का दिएर समस्या भएको स्थानीयको आरोप छ । स्थानीय जनकराज जोशीले पुल निर्माणमा ढिलाइ हुनुमा सडक डिभिजन र ठेकेदार कम्पनी दुवै दोषी भएको बताए । ‘पुल निर्माण गर्नुपर्ने स्थानको पहिल्यै प्राविधिक अध्ययन गर्नुपर्ने थियो, गरिएन,’ उनले भने, ‘सुरुमै त्रुटि गर्दा अहिले यो परिणाम आयो ।’
निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले प्राविधिक त्रुटीका कारण निर्माण कार्य रोकिएको बताए । त्यसमा निर्माण कम्पनीको कुनै कमजोरी नभएको उनको दाबी छ । ‘प्राविधिक समस्या चाँडै हल हुन्छ होला, हामीलाई काम गर्न आदेश आएको करिब डेढ वर्षभित्रै पुल तयार गर्छौँ,’ उनले भने, ‘अवरोध नआएको भए म्यादभित्रै पुल निर्माण गरेर हस्तान्तरण गरिसक्थ्यौँ ।’ स्थानीयले पुल निर्माणका लागि पटक–पटक सडक डिभिजन कार्यालय कञ्चनपुरमा ज्ञापनपत्र बुझाएका छन् ।
‘म्यादभित्रै काम सम्पन्न गर्नका लागि हामीले सम्बन्धित पक्षलाई घचघच्यायौँ, तैपनि सुन्दैनन्,’ स्थानीय अर्जुन साउँदले भने, ‘सबैतिर कमिसनको खेलले पुल अलपत्र परे जस्तो लाग्छ ।’ सरकारी निकाय र जनप्रतिनिधिको गैरजिम्मेवारीपनका कारण काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न नसक्दा पुल अधुरै रहेको उनको आरोप छ । ‘ठेकेदारहरूले ठाउँ–ठाउँमा ठेक्का लिने, पेस्की लिने, तर लगानी र स्रोत–साधन नलगाउने गरेका कारण पनि दोदामा समयमै बन्नुपर्ने पुल बनेन,’ उनले भने ।
पुल निर्माण नहुँदा सर्वसाधारण भने ज्यान जोखिममा राख्दै ट्युबमा शुल्क तिरेर आवतजावत गर्न बाध्य छन् । ‘हिउँदमा पनि पानी हुन्छ, नदी तर्न सकिँदैन,’ लालझाडी गाउँपालिका–४ देखतभुलीका सुन्दर रानाले भने, ‘बर्खामा झनै समस्या हुन्छ, ज्यान जोखिममा राखेर हिँड्नुपर्छ ।’ शंकरपुरका स्थानीय अगुवा अमरसिंह रानाले पुल अभावमा बिरामीलाई राति उपचार गर्न पनि लैजान नपाइने बताए । ‘नदीमा दिउँसो मात्रै ट्युबले तराउँछन्, राति कोही बिरामी भयो भने घरमै मर्नुपर्ने बाध्यता छ,’ उनले भने । हिउँदमा इटाह बाबा मन्दिर समितिले काठेपुल निर्माण गर्दै नागरिकलाई सुविधा दिँदै आएको छ ।
वर्षात्मा स्थानीय युवाहरू रामबहादुर राना, नरेश राना, जितबहादुर राना र रामु राना मिलेर १४ हजार लागतमा चार ट्युबको परम्परागत डुंगा बनाएर चलाउँछन् । उनीहरूले एक व्यक्तिको २० रुपैयाँ, साइकल सहित ५०, मोटरसाइकल सहितको दुई सय रुपैयाँ लिएर तराउने गरेका छन् । ‘हाम्रो उद्देश्य पैसा कमाउने होइन, बर्खामा नदी तर्दा कोही मर्नु नपरोस् भनेर चलाएका हौँ,’ रामबहादुरले भने ।
दोदा नदीमै अर्काे पुल अलपत्र
रमेश शर्माको शर्मा एन्ड कम्पनीले पनि कञ्चनपुरको दोदा नदीमै अर्को पुल अलपत्र पारेको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी उनले ०७२ मंसिरमा २६ करोड ७१ लाख ८८ हजारमा ज्वाइन्ट भेन्चरमा ठेक्का लिएका थिए । तर, अहिलेसम्म ६० प्रतिशत काम मात्रै भएको छ । ०७५ मा म्याद सकिएपछि एक वर्ष थपेर ०७६ मंसिरसम्म पु¥याइएको थियो । तैपनि अपेक्षित प्रगति भएको छैन ।
रानीजमराको तटबन्ध एक वर्षमै कटानमा
गुणस्तरीय तटबन्ध नबन्दा कैलालीको टीकापुर–२ मुलपानी क्षेत्र कर्णाली नदीले कटान गर्ने गरेको छ । कर्णाली नदीमा निर्मित तटबन्ध कटान हुदै जाँदा कैलाली टीकापुर डुबानको उच्च जोखिममा छ । टीकापुर २ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कर्णाली नदीले कटान गरिरहेको छ । उक्त तटबन्ध गजुरमुखी सिद्धी साई प्रकाश जेभीले बनाएको हो । कर्णालीले तीन दिनयता झन्डै ५० फिट लामो र २० फिट चौडा तटबन्ध कटान गरिसकेको छ ।
कटान समयमै नियन्त्रण नभए टीकापुर २, ५, ७ र ८ डुबानको जोखिममा छन् । कर्णालीको भंगालो कैलालीको टीकापुरतिर सोझिएपछि नियन्त्रणका लागि पहल र समन्वय भइरहेको नगर प्रमुख तपेन्द्रबहादुर रावल बताउँछन् । रानीजमराकै एउटा ठेक्का एक अर्ब ७३ करोड ३४ लाख रुपैयाँमा ऋषि सुवेदी प्रमुख रहेको तुदी कन्स्ट्रक्सनले पाएको छ । असार ०७४ भित्र सम्पन्न गर्ने सीमा रहेको काम हालसम्म ५० प्रतिशत मात्र भएको छ । रानीजमरामै पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्स्ट्रक्सनले एक अर्ब ७१ करोड ७९ लाख रुपैयाँ लागतको अर्को ठेक्का लिएको छ । असार ०७५ मा सम्पन्न हुनुपर्ने काम ०७७ का पाँच महिना बित्न लाग्दा पनि ५० प्रतिशत मात्र सकिएको समाचार आजको नयाँ पत्रिकाले लेखेको छ ।