
सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । हिजो ५ जनामा कोरोना पुष्टि भएकोमा आज थप चार जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । योसंगै प्रदेशभरी संक्रमितको सङख्या १४ पुगेको छ । आज थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ ।

उनीहरु बैतडीको शिवनाथ गाउँपालिकाका हुन । वडा नम्वर १ का २७ र २० बर्षीय तथा वडा नम्वर २ का २२ र ३० बर्षीय पुरुष हुन । हिजो मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाईनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन ।