उमेरले ७८ वर्ष पुगिसक्नुभएका वीरबहादुर चन्द गाउँमै हाते कागज उद्योग खोलेर नेपाली कागजको महत्व बुझाउँदै हिँड्नुभएको छ । पूर्व गाविस अध्यक्षसमेत रहनुभएका चन्द स्थानीय सरकारले नेपाली कागज किन्नुपर्ने माग राख्दै आउनुभएको छ । स्थानीय तहको सरकारले नेपाली कागज प्रयोग गर्ने चासो नदेखाउँदा उत्पादित हाते कागजका दुई हजार चार सय कोरी उद्योगमा थन्किएर बसेको उनले बताए ।
बैतडी सिगास गाउँपालिका–९, चौखामस्थित जालहाल्ला नेपाली हाते कागज उद्योगले दैनिक तीन सय हाते कागज उत्पादन गर्दै आएको छ । उत्पादित हाते कागज धनगढीदेखि काठमाडौँसम्म पु(याउन सकिएको छैन । स्थानीय सरकारले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगरेको उद्योगका अध्यक्ष वीरबहादुर चन्दले गुनासो गरे। २०४९ सालमा तत्कालीन चौखाम गाविस अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका चन्दले २०६६ सालमा गाउँका अगुवा व्यक्तिलाई समेटेर उदयदेव सामुदायिक वन दर्ता गरेर वनमा लोक्ता खेती सुरु गरे ।
नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताका बोटले भरिभराउ रहेको जङ्गल छेउमा रहेको हाते कागज उद्योगका सञ्चालक वीरबहादुर चन्दले २०७० सालदेखि गाउँमा नेपाली कागज उद्योग स्थापना गरी सात जनालाई रोजगारीसमेत दिए । उद्योगबाट अहिले जापानी प्रविधिबाट कागज उत्पादन हुने गरेको छ। सुरुमा ढुङ्गामै लोक्ता थिचेर नेपाली कागज बनाउन सुरु गर्नुभएका चन्दले नयाँ प्रविधि सिके पनि कागज काट्ने मेसिन र चिल्लो बनाउने प्रेसर मेसिन नहुँदा समस्या भइरहेको बताए।
२०७० सालमा नेपाली कागज बनाउन सामुदायिक वनमा लोक्ताका बोटको छ वटा ब्लक खेती विस्तार गरेर एक महिनामा एउटा ब्लकबाट लोक्ता निकाल्ने गरेको चन्दले बताए । सामुदायिक वनलाई राजस्व तिरेर वार्षिक २३ टन कच्चा पदार्थ प्रयोग गर्न सक्ने अनुमति पाएका चन्दले उद्योगमा बिजुलीको समस्या भएको दुःखेसो पोखे । “कागज उद्योगसम्म राष्ट्रिय प्रशारण लाइन पुग्न सकेको छैन, गाउँमा रहेको लघुजलविद्युत्ले मेसिनमा मोटर चल्दैन,” चन्दले भने ।
बैतडीका १० वटा स्थानीय सरकारले गाउँमा उत्पादन भएको नेपाली कागज त किन्दैन, अरू सहयोगको के आशा गर्नु रु उनले थप्नुभयो, “स्थानीय सरकारले ठुला कम्पनीले उत्पादन गरेको कागज र खाम किन्ने गर्छन् । गाउँमा उत्पादन भएको नेपाली कागज चिन्दैनन् ।” नेपाली कागज धमिराले नखाने विशिष्ट खालको कागज भए पनि यसको महत्व स्थानीय सरकारले नबुझेको चन्दले बताए। नेपाली कागज कार्यालयमा प्रयोग गर्ने खाम, लेटरप्याड, निमन्त्रणा कार्ड, विवाह कार्डमा प्रयोग गर्न सके स्थानीय उद्योग फस्टाउने सम्भावना रहेको छ । गोरखापत्र