राज्यले राउटे समुदायलाई लोपोन्नमुखमा सूचिकृत गरेपनि उनीहरुलाई दिने सेवा, सुविधा भने प्रभावकारी हुन सकेको छैन । जसका राउटे समुदाय अझैपनि गाउँघरको जीवनभन्दा जङ्गलमा बस्न रुचाउँछन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टीमा बसोवबास गर्दै आएका राउटे समुदायहरुको अहिले पनि जीवनशैली उस्तै छ । जङ्गली जीवनशैलीका कारण उनीहरुलाई परिवार पाल्नसमेत समस्या भएको छ ।
पुर्खौं पुर्खादेखी जंगलमै बस्ने, जंगलका तरुल, गिट्ठा, भ्याकुर कन्दमुल खाने र जंगलीजडीबुटीमामात्र विश्वास गर्ने राउटेलाई बद्लिदो परिस्थितिमा समस्या भइरहेको छ । जंगलका राजा नै भनेर चिनिने राउटे समुदायको स्तर उकास्नका लागि राज्यले राउटे समुदायलाई लोपोन्नमुख समुदायका रुपमा सूचिकृत गरिसकेको छ । खल्ला मछेट्टीमा बसोवास गर्दै आएका बडसिंह राउटेको परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परेको छ । जंगलमा हुँदा तरुल, कन्दमुल खाएर गुजारा चलाउदै आएका बडसिंह राउटेको परिवार अहिले रासन अभावले मर्कामा परेको हो । खाने स्रोत नभएका कारण उनको परिवारलाई बिहान साँझको छाक टार्न पनि कठिनाई छ । उनका तीन छोरा छन् ।
बडसिंहराउटे भन्छन्–‘जङ्गलमा गिठा, तरुल, कन्दमुल तथा मासुबााट जीवन चलाउन सजिलो हुन्थ्यो । अहिले भने सबै थोक किन्नु पर्छ । जङ्गलमा खानलाई धेरै कुरा मिल्थ्यो, समाजमा आइसकेपछि सधैजसो भोकै सुत्नुपर्छ ।’ सरकारले दिने भत्ताको भरमा जीवन चलाउन नपुग्ने उनले बताए । ‘सरकारले दिने भत्ताले खान लाउन पुग्दैन’, उनले भने,‘ भत्ताले खान लाउन पुग्दैन । केही रोजगार भएपछि घरसमेत बनाउन सकिन्थ्यो ।’ गाउँमा बसोबास गरिसकेपछि सामुदायिक वनले जङ्गल भित्रै जान नदिने बताउँदै उनले काठबाट हुने रोजगार तथा आफ्नो परम्परागत सीप पनि हराएको गुनासो पोखे ।
वर्षौंदेखि जङ्गलमा बसोबास गर्दै जङ्गली खानेकुरा खाएर बाच्दै आएका राउटे समुदाय अहिले लोप हुने अवस्थामा पुगेको छ । त्यस्बेला गिठा, तरुल, कन्दमुल लगायतका जङ्गली खानपानमा हुर्किएका राउटे समुदायलाई जङ्गलबाट समाजमा स्थानान्तरणगर्दा समेत उनीहरुको जीवनशैलीमा कुनै पनिवर्तन आउन सकेको छैन । सरकारले राउटे समुदायलाई जङ्गलबाट गाउँमा बसोवास गराई बेवारिसे रुपमा अलपत्र छाडेपछि आफूहरु एकदमै समस्यामा परेको समुदायका मानिस बताउँछन् । जङ्गलमा भएको बेला काठ दाउराले विभिन्न किसिमका भाँडाकुडा बनाइ पैसा कमाउने उनीहरूको मुख्य आम्दानीको श्रोत थियो । ‘यो गाउँले जीवनभन्दा जङ्गलमै राम्रो लाग्छ’, बडसिंह राउटेले भने ‘गाउँमा सबैले हेला गर्छन । दुख दिन्छन् योभन्दा त जङ्गल नै रमाईलो लाग्छ ।’
उनले गाउँमा सानो खेत बनाएका छन् । ऐलानी जमिनमा अन्नबाली लगाउनका लागि खेत बनाएको भन्दै उनले थपे–‘खेत त बनाए तर, सिँचाइ गर्नका लागि गाउँलेले पानी दिदैनन् ।’ बडसिंहका अनुसार दिनभरी केही काम हुन्न घरको आगनीबाट माथिको जङ्गल हेरेर दिन काट्नु परेको छ । उनी भन्छन्–‘जङ्गलमा खानलाई धेरै कुरा मिल्थ्यो, समाजमा आईसकेपछि हाम्रो खानपान स्रोत नै छुट्टै भएको छ ।’
यस्तै, खल्लाकी अर्का स्थानीय किरीदेवी राउटे भन्छिन्–‘गाउँमा कहिकतै गएर केही गरु भन्दा त मानिस देखेपछि डर लाग्ने गर्छ । खेतीपाती गर्न जमिन छैन्, बाँच्नका लागि फेरी पनि कडिपत्ता बनाएर पैसाको जोडजाम गर्छु ।’ उनले गाँउमा पूर्नस्थापना गरिएपनि आर्थिक अभावका कारण साना छोराहरुलाई विद्यालय पठाउन नसकेको बताइन् ।
उनका अनुसार जङ्गल छोडी गाउँमा आएपछि बसोबास मात्रै परिवर्तन भएको छ । जीवनशैली भने थप चुनौतीपूर्ण बन्दै गएको छ । ‘जङ्गलमा तरुल र जङ्गली जनावरको मासुबाट जीवन चलाउन सजिलो थियो अहिले सबै सामान खरिद गर्नुपर्छ’, किरीदेवीले भनिन् । ‘परिवारको गुजाराका लागि कडिपत्ता बेच्दै आएकी छु ।’
यसैबीच, कोरोना कहरका बेला सरकारले छुट्टयाइएको भत्तासमेत नपाउने हल्ला सुनेपछि उनीहरु थप चिन्तित बनेका छन् । कुनै बेला कञ्चनपुर जिल्लामा राउटे समुदायको उल्लेख्य जनसङ्ख्या भएपनि अहिले भने तीन परिवार मात्रै बसोबास गर्दै आएका छन् ।