सुदूरपश्चिममा नाकामा हुने आवागमनको व्यवस्थापन र भीडभाड नियन्त्रणका गतिविधि शून्य 
2021/04/25, 12:21
 
gg

कञ्चनपुर जिल्लामा कोरोनाको संक्रमण दिनहुँ बढ्दै गएको छ । तर नाकामा हुने आवागमन व्यवस्थापन गर्नेदेखि स्थानीय स्तरमा भीडभाड नियन्त्रणलगायतका गतिविधिहरू शून्य देखिन्छन् । त्यति मात्रै होइन संक्रमितहरूको कन्ट्र्याक्ट ट्रेसिङ र तिनलाई क्वारेन्टाइनमा राख्ने विषयमा समेत लापरबाही भइरहेको छ ।

‘सीमा व्यवस्थापनका विषयमा हामीले मात्रै केही गर्न सकिँदैन,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘खुला नाकाका कारण संक्रमण झनै बढेको छ ।’ उनले आइतबार बस्ने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले नाका व्यवस्थापनका विषयमा केन्द्रमा सिफारिस गर्न सक्ने बताए ।

अहिले पनि गड्डाचौकी नाकामा निर्बाध आवागमन भइरहेको छ । भारतबाट काम गरेर फर्किनेमा मात्रै होइन, किनमेलका लागि जानेहरूमा संक्रमण पुष्टि हुन थालेको छ । सीमावर्ती बजारमा दिनहुँ किनमेलका लागि जानेमध्ये केहीमा एन्टिजेन परीक्षणमा शनिबार ४ जना र शुक्रबार २ जनामा संक्रमण देखिएको छ । तर दिनहुँ किनमेलका लागि हुने आवागमन रोकथाममा स्थानीय प्रशासन मौन छ । 

यस्तै कैलालीमा पनि सोही समस्या छ । त्रिनगर नाका भएर निर्वाध रुपमा भइरहेको आवागमनले जोखिम निकै बढेको छ । सीमा बजारमा अहिले पनि सामान खरिदका लागि जाने समस्याले झनै जोखिम बढाएको छ ।