‘डुबानमा परेर बिस्थापित भयाैँ, राहत दिन काेही आएनन्’
बाढी प्रभावित एक बस्तीकाे कथा
2021/06/21, 2:57
 
da

बिहीबार राति करिब ९ बजेतिर भीमदत्त नगरपालिका वडा नम्बर १२ का रञ्जिता सुनाह र उनको परिवार खानपिन गरेर सुत्ने तरखरमा लाग्याे। यत्तिकैमा एक्कासी पानीको मसल उनको घरभित्र पस्यो। ‘परिवारलाई खाना खुवाएर बच्चालाई सुताउँदै थिए’ उनले भनिन्, ‘कतिबेला पानी घरभित्र पस्यो पत्तै भएन।’

घरमा पानी पस्यो भन्ने चिन्ता भन्दा पनि उनलाई आफ्ना बालबच्चा कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले बढि सतायो। पानी घरभित्र पसेपछि उनले आफ्ना बालबच्चालाई बाहिर चारपाइ (रसीले बुनेको खाट) मा बसाइन् र  छाता ओढाएर रात बिताइन्। उनको घरभित्र भने पानी टमाटम भरियो। सामान तथा अन्न सबै पानीले भिजाइसकेकाे थियो।

‘पानी घरभित्र आएपछि मलाई अरुभन्दा सन्तानकाे चिन्ताले सतायाे। हतार हतार उनीहरुलाई घरबाहिर सडकमा खाटमाथि पाल टाँगेर सुताएँ’, उनले भनिन्। दोस्रो दिन पनि पानी परेकै थियो। उनको घरभित्र झन् पानी बढ्यो। पानी बढे पनि दिउँसाे उज्यालो भएका कारण उनलाई केही चाँजोपाँजो मिलाउन सहज भयो।

1

‘दोस्रो दिन पनि घरमा पानी बढ्यो’ उनले भनिन्, ‘बिहान त मान्छेले यताउता गरिहाल्छ। जसाे तसाे बालबच्चालाई खाना खुवाएयौँ। अहिले स्कुलमा बसिरहेका छाैँ।’

साँझ बिहानकाे खानका लागि पनि उनलाई धौ–धौ भइरहेको छ। घरभित्र पानी पसेकाले अन्न बिग्रिएकाे उनले बताइन्। केही दिन आफन्तकाे घरबाट खाद्यान्न ल्याएर उनले परिवारलाई खुवाएकी थिइन्।

‘केही अन्न बचेको छ कि भनेर हेर्न जाउँ भनेको घर भित्र सर्प गएको देखे। अब भित्र जान पनि डर लाग्छ’ उनले भनिन् ‘पानी निकास हुने ठाउँ नै छैन। के गर्ने होला ?’

3

रञ्जिता मात्र होइन, उनका छिमेकीहरु पनि अब के गर्ने होला भन्ने चिन्तामा छन्। करिब १० वटा घरमा महाकाली नदीको पानी पसेको छ। घर डुबानमा परेकी रुक्मा सुनाहाको पनि हालत उस्तै छ। उनको घर पनि जलमग्न छ। उकालो ठाउँमा पाल टाँगेर बसेको छ उनको परिवार।  पानी निकास हुने ठाउँ नभएर यति दु:ख पाएको उनले बताइन्।

‘पहिले पनि बाढी आउँथ्यो। तर पानी निकास हुने ठाउँ भएर धेरै बेर रहन्नथ्यो’ उनले भनिन्, ‘सडक तथा पुल बनाउँदा बाँध बाधेका कारण अहिले पानी निकास हुने ठाउँ छैन। घरभित्रै जम्मा भयो।’ यसअघि नै यस्तो समस्या आउने अनुमान गरेर जनप्रतिनिधिलाई आफ्नो समस्या सुनाए पनि वास्ता नभएको बाढी पीडितको गुनासो छ। बाढी पीडित मनोज सुनुहाका अनुसार जनप्रतिनिधिलाई पटक–पटक ढुङ्गा हटाइदिन आग्रह गरिए पनि बेवास्ता गरियाे।

‘हाम्रो तिर जम्मै ढुङ्गा जम्मा गरिदियो र पानी बग्न पाएन’, उनले भने, ‘पानी बग्न नपाएपछि घर डुबानमा परेका छन्। अहिले त असारको पहिलो हप्ता नै हो। पानी आउन भर्खर सुरु भयो। पूरै बर्खा बाँकी छ। हामीले धेरै नै दु:ख पाउने भयौँ।’

3

घरभित्र पानी जलमग्न भएका कारण बस्न सक्ने अवस्था छैन। तर आफूहरुकाे बस्तीमा राहत तथा उद्धारकाे कुनै काम नभएकाे उनीहरुले बताएका छन्।  स्थानीय सरकारका प्रतिनिधिले निरीक्षण गरे पनि कुनै किसिमको सहयोग नगरेको पीडितहरुले गुनासाे गरेका हुन्।

आफूहरुलाई कुनै किसिमको सहयोग नमिलेको बाढी पीडित मनोज सुनाहाले बताए। ‘आजसम्म राहत बाेकेर कोही आएका छैनन्। घरमा पानी कम भए पनि घरभित्र बस्ने अवस्था छैन। नजिकैको सरकारी स्कुलमा बालबच्चालाई राख्यौँ। आफूहरु पाल टाँगेर बस्यौँ’, उनले भने।

1

तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अमरकुमार महताेले बाढी पीडितलाई सुख्खा ठाउँमा सारिएकाे दाबी गरे। उनले भने, ‘धेरै क्षति भएको छैन। घर भित्र पानी मात्र पसेको हाे घरै बगाएको छैन। घर भत्केमा या धेरै क्षति भएमा विपद् व्यवस्थानपन समिति अन्तर्गत पाँच जनाको परिवारलाई १५ हजार र त्यो भन्दा बढीको परिवार भएमा २० हजार दिने गरेका छौँ। तर अहिले त्यस्तो अवस्था आएको छैन।’

महाकाली नदीको बहाव घटबढ भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले अहिले जोखिम कम देखिए पनि उक्त क्षेत्रका बासिन्दाले सर्तकता अपनाउनु पर्ने बताए।

1

यता केही दिन देखि परेको पानीका कारण कैलालीकाे धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का बस्तीहरु पनि डुबानमा परेको छन्। उक्त क्षेत्रमा पानी निकास हुने प्रबन्ध नगरिएकाले बर्सेनि डुबान हुने गरेकाे स्थानीय बासिन्दा बताउँछन्। वडा नम्बर ३ का स्थानीय बासिन्दा राजबहादुर ऐरले डुबानकाे समस्या समाधानका लागि स्थानीय सरकारसँग माग गरेको बताए।