कैलालीका सबै स्थानीय तहले बजेट ल्याए
2021/06/25, 9:53
 
dd

कैलालीका १३ वटै स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट प्रस्तुत गरेका छन् । असार १० गते बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार स्थानीय तहहरुले बिहीबार नगर/गाउँसभामा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट प्रस्तुत गरे ।

कैलालीका १३ मध्ये अधिकांस स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यस्तै, शिक्षा र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बजेट तथा नीति र कार्यक्रममा उल्लेख गरिएको छ । तर, बजेट भने पूर्वाधार विकास क्षेत्रमा बढी विनियोजन गरिएको छ ।

स्थानीय तहहरुले कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने भएकोले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन् । असार ८ गते नै नगर सभामा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँको बजेट प्रस्तुत गरेको धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट बिहीबार पारित भएको छ ।

उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ एक अर्ब दुई करोड ८० लाख ७० हजार रुपैयाँ र पुँजीगततर्फ ७८ करोड ४७ लाख ५१ हजार रुपैयाँ अनुमान गरेको छ । धनगढी उपमहानगरपालिकाले कोभिड–१९ व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन, कृषि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उपप्रमुख सुशीला मिश्र भट्टले बताइन् ।

त्यस्तै, टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ७५ करोड ८८ लाख ९५ हजार रुपैयाँको बजेट ल्याएको छ । नगर सभामा उपप्रमुख केशरी रावल बिष्टले चालूतर्फ ४९ करोड ३३ लाख ६७ हजार र पूँजीगत तर्फ २६ करोड ५५ लाख २८ हजार रुपैयाँको व्यय अनुमान प्रस्तुत गरिन् ।

टीकापुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कोभिड–१९ रोकथामका लागि ६१ लाख ८७ हजार र अन्य स्वास्थ्य कार्यक्रमका लागि ८२ लाख रुपैयाँ बजेट छुट्टयाएको जनाएको छ । उपप्रमुख बिष्टले शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न वडा नम्बर १ र ८ का लागि बजेट विनियोजन गरिएको बताइन् । उनले टीकापुर अस्पतालमा बालरोग, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा र नि:शुल्क रक्त संचार सेवा ग्रामिण अल्ट्रासाउण्ड, पूर्ण खोप सुनिश्चित, आमासंग उपमेयर, हाम्री छोरी प्यारी छोरी कार्यक्रम जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइन् ।

त्यस्तै, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १८ करोड ७१ लाख ५७ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेको छ । गोदावरी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ६६ करोड २२ लाख ९७ हजार रुपैयाँ र पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार रुपैयाँ व्यय अनुमान गरिएको उपप्रमुख रत्ना कडायतले बताइन् । कैलालीकै घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८९ करोड ९९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बजेट प्रस्तुत गरे । उनले पुर्वाधार विकास सबैभन्दा धेरै कुल बजेटको ४३.४२ प्रतिशत विनियोजन गरिएको बताए । उनले प्रशासनिक व्यवस्थापनका लागि २६.४५ प्रतिशत, आर्थिक विकासमा ७.६६ प्रतिशत र सामाजिक विकासमा १९.७१ प्रतिशत बजेट छुट्टाइएको बताए ।

लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १० करोड २८ लाख ८१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । लम्कीचुहा नगरपालिकाको नीति तथा कार्यक्रम बुधबार पारित भएको थियो ।

त्यस्तै, गौरीगंगा नगरपालिकाले ७९ करोड ७० लाख १६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख अञ्चला चौधरीले आगामी आर्थिक वर्षमा गौरीगंगाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । उनले योजनाहरुमा नगरसभाको आगामी बजेटबाट बजेट विनियोजन गरिने बताइन् ।

भजनी नगरपालिकाले भने बिहीबार अबेरसम्म नगरसभामा बजेट प्रस्तुत गर्न सकेको छैन । बजेट प्रस्तुतीका लागि कार्यपालिकाको बैठक जारी रहेको भजनीका सूचना अधिकारी चन्द्रदेव भट्टले बताए ।

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा तीन/तीन करोड, आर्थिक विकास क्षेत्रमा दुई करोड २५ लाख, वन तथा विपद व्यवस्थापनमा दुई करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइन् ।

उनले गाउँपालिकाले गौरवका योजना अन्तरगत वनदेवी धार्मिक पर्यटकीय क्षेत्र विकासका लागि एक करोड ५० लाख, सडकपुर–लोहरपुर सडक आयोजनाका लागि ७० लाख, एक सहकारी एक उद्योग परियोजनाका लागि ३० लाख, नमूना विद्यालय बनाउनका लागि २५ लाख, दुधिया मिनी पार्कका लागि, २५ लाख, एक वडा एक कृषि पकेट कार्यक्रमका लागि १५ लाख, सुर्मिनाला–लौसा र धर्मापुर–शीतलपुर सडकका लागि १०/१० लाख, एक वडा एक कालोपत्रे सडकका लागि एक करोड ३५ लाख, युवालाई स्वरोजगारकोष (सहुलियत पूर्ण ऋण लगानी) ४० लाख विनियोजन गरिएको बताइन् ।

चुरे गाउँपालिकाले सडक र भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथकिता दिंदै ४३ करोट ७० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दीपादेवी साउँदले चालुतर्फ २४ करोड ३४ लाख १० हजार र पुँजीगततर्फ १९ करोड ३६ लाख रुपैयाँ व्यय अनुमान गरिएको बताइन् ।  उनले रणनीतिक महत्वका सडक स्तरोन्नतीका लागि ५ करोड ३६ लाख, वडा कार्यालय भवन निर्माण तथा व्यवस्थापनका लागि २ करोड ३१ लाख, सामाजिक विकासतर्फ एक करोड ६५ लाख, स्वास्थ्यतर्फ ४५ लाख, आर्थिक विकासतर्फ ४४ लाख, कार्यालय व्यवस्थापनका लागि ७ करोड २० लाख, कोभिड १९ को संक्रमण लगायत अन्य विपद् जोखिम व्यवस्थापनका लागि ५० लाख विनियोजन गरिएको बताइन् ।

जोशीपुर गाउँपालिकाकाले ५२ करोड पाँच लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गीता कठरियाले आर्थिक विकासमा ६० लाख, सामाजिक विकासमा एक करोड ६३ लाख, संस्थागत विकासमा सात करोड ८४ लाख २० हजार विनियोजन गरिएको बताइन् । उनले पुर्वाधार विकासमा विनियोजन हुने रकम गाउँसभाको आगामी बैठकबाट विनियोजन गरिने बताइन् । बर्दगोरिया गाउँपालिकाले ४४ करोड ७० लाख ९० हजार रुपैयाँको डल्लो बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष भगवती डगौराथारुले आम्दानीको स्रोत र व्ययको अनुमान मात्रै गाउँसभामा प्रस्तुत गरिएको बताइन् । उनले गाउँसभाबाट योजनाहरुमा बजेट बाँडफाँड गरिने बताइन् ।

अघिल्लो वर्ष लामो सयमसम्म बजेट प्रस्तुत गर्न नसकेको मोहन्याल गाउँपालिकाले यसवर्ष आगामी आर्थिक वर्षका लाग एक दिन पहिले नै बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजा बुढामगरले ४५ करोड ५८ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् । उनले आर्थिक विकासमा एक करोड २० लाख, पुर्वाधार विकासमा एक करोड ९ लाख ९१ हजार, सामाजिक विकासमा तीन करोड २५ लाख, वातावरण तथा विपत ब्यबस्थापनमा २५ लाख, सुशासन र संस्थागत विकासमा २० लाख, लैंगिक तथा समाबेशीकरणमा २० लाख विनियोजन गरेको बताइन् ।

यसैगरी, जानकी गाउँपालिकाले पनि बिहीबार साँझसम्म गाउँसभामा बजेट प्रस्तुत गरेको छैन । बुधबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको जानकीको गाउँसभामा नै बजेट प्रस्तुत हुने अध्यक्ष प्रदिप चौधरीले बताए ।