अत्तरिया उद्योग वाणिज्य संघमा ६ जना सदस्य मनोनीत, पदाधिकारीको निर्वाचन हुने
2025/01/15, 4:23
 
dd

अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमितिमा ६ जना सदस्यलाई मनोनीत गरिएको छ । संघमा केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिंह बोहराले ६ जना सदस्य मनोनीत गरेका हुन ।

उनीहरूलाई यही पुस २८ गते बाँकी रहेका समितिका पदाधिकारीहरूको बैठकबाट मनोनीत गरिएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए । सदस्यमा मनोनीत हुनेमा भवानी दत्त भट्ट, दिर्घराज भट्ट, सूर्य प्रसाद गौतम, इन्द्र प्रसाद गौतम, छत्र विश्वकर्मा र जानकी जेठारा रहेका छन् । २८ गते मनोनीत गरिएका उनीहरूको २९ गते शपथ ग्रहण गरिएको उनले बताए । मनोनीत भएका सदस्यहरूलाई अध्यक्ष बोहराले नै शपथ ग्रहण गराएका हुन ।

उनले संघको विधान २०७१ मा टेकेर सदस्यहरू मनोनीत गरिएको बताए । ‘११ जनाले राजीनामा दिएपछि संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नं ५ बमोजिम रिक्त रहेका सदस्यको पदमा मनोनीत गरिएको हो’ उनले भने ‘पदाधिकारीको हकमा भने विधान बमोजिम नै निर्वाचन हुन्छ ।’

उनले जिल्ला प्रशासन कार्यालयसँगको छलफल पश्चात् पनि उक्त निर्णय गरिएको बताए । सदस्यहरूको मनोनीतका विषयमा विधानको प्रतिकुल नहुने गरी काम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयले पनि आदेश दिएको उनले बताए । ‘हामीले लामो समय कानुनी परामर्श लिएर विधान अनुसार नै सदस्यहरू मनोनीत गरेका हौ’ उनले भने ‘संस्थालाई निकास दिन र नयाँ दिशा दिनका लागि पनि यो कार्य गरिएको हो ।’

उनले संस्थालाई अघि बढाउन समितिलाई पूर्णता दिनुको विकल्प नरहेकाले कानुनी सल्लाहकारसँगको निरन्तर परामर्शमा नै सदस्यहरू मनोनीत गरिएको बताए । उनले आफूहरू विधानमै टेकेर अगाडि बढेको र उक्त कार्यले आगामी दिनमा बैठक बस्न तथा केही निर्णय गर्नका लागि बाटो खुलेको बताए ।