कोरोना संक्रमण घटेपछि ​​​​​​​सुदूरपश्चिममा लयतर्फ जनजीवन
2022/02/17, 11:24
 
aa

सुदूरपश्चिममा तेस्रो लहरको कोरोना संक्रमण घटेपछि मान्छेको दैनिकी सामान्य हुन थालेको छ । सङ्क्रमण निरन्तर माघ तेस्रो साताबाट सङ्क्रमण निरन्तर ओरालो लाग्दै सक्रिय सङ्ख्या कम भएपछि जनजीवन लयमा फर्किन थालेको हो । सरकारी कार्यालयका सेवाहरु नियमित हुन थालेको छ । यसैगरी, मान्छेहरु निर्धक्कसंग कामकाज गर्न थालेका छन् ।संक्रमण घटेपछि धेरै कुरा पूर्ववत अवस्थामा आइसकेको स्वास्थ्यकर्मी कुसुम चौधरीले बताए ।

‘अब कोरोनासंग डराएर हुँदैन’, उनले भने । माघको दोस्रो साता सरकारी कार्यालयका धेरै कर्मचारी संक्रमित भएका थिए । कर्मचारीमा संक्रमणपछि धेरैजसो सरकारी कार्यालयको सेवा नै ठप्प भएको थियो । यसैगरी, अति आवश्यक काम हुने जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालयले केही सेवा स्थगन गरेका थिए ।

संक्रमण कम भएपछि यी कार्यालयहरुमा सेवाग्राहीहरु बढ्न थालेका छन् । पछिल्लो समय यो प्रदेशमा सङ्क्रमण दर घटेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार फागुन ३ गते ९०३ जनाको स्वास्थ्य परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी, फागुन २ गते एक हजार १०७ जनाको परीक्षण गर्दा ४५ र फागुन १ गते ९६० जनाको परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेशमा कोरोना सङ्क्रमण न्यून भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार अब सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९८ मा झरेको छ । यो मङ्गलबारसम्मको तथ्याङ्क हो । तेस्रो लहरको कोरोना सङ्क्रमण दर माघ दोस्रो साता उच्च विन्दुमा पुगेको बेला यो प्रदेशमा सक्रिय सङ्क्रमितकोे सङ्ख्या साढे चार हजारसम्म पुगेको थियो ।

सो तथ्याङ्क अनुसार हाल कैलालीमा सबैभन्दा बढी ७०१ जना सक्रिय सङ्क्रमित छन् । कञ्चनपुरमा २५३ जना र पहाडी जिल्लामध्ये बैतडीमा ११५ जना सक्रिय सङ्क्रमित रहेका छन् । बाँकी अरु सबै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या सयभन्दा तल रहेको छ । बाजुरामा ८५, डडेल्धुरामा ६३, दार्चुलामा २५, अछाममा २३, बझाङमा २० र डोटीमा सबैभन्दा कम १३ जना सक्रिय सङ्क्रमित रहेको निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण घटे पनि मृत्यु हुनेक्रम भने शून्यमा झरेको छैन  । पछिल्लो दुई दिन यो प्रदेशमा दुई जना सङ्क्रमितको निधन भएको छ । कोरोना सङ्क्रमणपछि प्रदेशभरि ज्यान गुमाउनेको जम्मा सङ्ख्या ६२९ पुगेको निर्देशनालयले जनाएको छ । यो प्रदेशमा मङ्गलबारसम्म अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या १९ रहेको छ । सेती प्रादेशिक अस्पतालमा नौ जना सङ्क्रमित भर्ना भएका छन् । जसमध्ये तीन जनालाई आइसीयु र दुई जनालाई भेन्टिलेटरमा राखिएको छ ।

महाकाली अस्पतालमा एक जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ । जिल्ला अस्पताल बझाङमा तीन, डडेल्धुरा अस्पतालमा आइसीयुमा राखेर दुई, जिल्ला अस्पताल बैतडी, डोटी र अछाममा एक÷एक जना सङ्क्रमितको उपचार भइरहेको छ । बाजुरामा एक जना बिरामीलाई आइसीयुमा राखेर उपचार गर्ने कार्य भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशभरि जम्मा छ जना बिरामी आइसीयु र तीन जना बिरामी भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, आठ जना सङ्क्रमितलाई कैलालीस्थित कनरी आइसोलेसनमा राखिएको छ । उनीहरु भारतबाट आएका हुन । तेस्रो लहरका सङ्क्रमणको क्रममा कमै सङ्क्रमितमात्रै उपचारका लागि अस्पताल भर्ना भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठको भनाइ छ ।

तेस्रो लहरको कोरोनाले स्वासप्रस्वास प्रणालीको माथिल्लो भागमा आक्रमण गरेका कारण सङ्क्रमितहरुको स्वास्थ्य अवस्था जटिल नबनेको स्वास्थ्यकर्मीको बुझाइ छ । दोस्रो लहरको क्रममा फैलिएको डेल्टा भेरियन्टले फोक्सोमा समस्या गरेको थियो । जसको कारण सङ्क्रमितका स्वास्थ्य अवस्था जटिल बनेको थियो । सुदूरपश्चिम प्रदेशभरि हालसम्म चार लाख ९४ हजार ६५९ जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमध्ये ५९ हजार २७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसैगरी, पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन् ।