सुदूरपश्चिममा १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९०३ पुग्यो
2020/08/30, 6:00
 
korona up

सुदूरपश्चिम प्रदेशमा आज थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका एक सय जनामा संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ। 

यस्तै कैलालीको गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुई जना र कैलारी गाउँपालिकामा एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै, डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो। 

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार पुर्वीचौकी गाउँपालिका –६ का ८ जना, सोही गाउँपालिकाको वडा नम्बर ७ का एक जना, सायल गाउँपालिकाका एक जना र दिपायल सिलगढी नगरपालिका ४ का एक जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार नौ सय तीन पुगेको छ। संक्रमित मध्ये चार हजार आठ सय ४० जना निको भएर डिस्चार्ज भएको दावी गरिएको छ भने १४ जनाको मृत्यु भइसकेको छ।